चितवन पर्सा कम्प्लेक्सलाई चितवनदेखि रौतहटसम्म तीन ब्लकमा विभाजन गरी बाघ गणना सुरु गरिएकोमा पहिलो ब्लकको काम सम्पन्न भइसकेको छ।
What you should know
पर्सा — चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाको क्रममा हाल चितवन राष्ट्रिय निकुञ्जको पूर्व र पर्सा राष्ट्रिय निकुन्जको पश्चिम भेगमा क्यामेरा जडानको काम भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार हाल पर्साको ठोरीको इच्छानगर, सिकारीबास क्षेत्रमा क्यामेरा जडानको काम भइरहेको हो।
चितवन पर्सा कम्प्लेक्सलाई चितवनदेखि रौतहटसम्म तीन ब्लकमा विभाजन गरी बाघ गणना सुरु गरिएकोमा पहिलो ब्लकको काम सम्पन्न भइसकेको छ। अब दोस्रो ब्लकमा क्यामेरा जडान गर्न प्राविधिकहरुको १३ वटा समूह खटिएको छ।
आचार्यका अनुसार प्रत्येक टोलीमा ५/६ जनाको दरले १ सय जना प्राविधिक खटिएका छन् । दोस्रो ब्लकलाई तीन सय दुई ग्रिडमा विभाजित गरिएको छ। प्रत्येक ग्रिड दुई वर्ग मिलोमिटरको छ। एउटा ग्रिडमा दुई वटाको दरले करिब ६ सय क्यामेरा जडान गर्न लागिएको छ। जडान गरिएका क्यामेरा २० दिनपछि निकालिने छ।
प्रत्येक ४ वर्ष यसरी बाघको उपस्थिति रहेका निकुन्ज तथा आरक्षहरुमा बाघ गणना गरिँदै आएको छ । बाघको संरक्षणका लागि गरिएको प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या उत्साहजनक रुपमा बढेको छ।
सन् २००९/१० मा गरिएको गणनामा यो निकुञ्जमा केवल ४ बयस्क बाघ थिए। निकुन्जमा पछिल्लो गणनाको नतिजाले बयस्क बाघको संख्या ४१ देखिएको थियो। यस पटकको गणनामा निकुञ्जमा बाघको संख्या थपिने अनुमान छ।
पर्साको निर्मलबस्तीमा र निकुन्जको आधाभारतस्थित कार्यालयबाट करिब १५ किलोमिटर पूर्व बाराको हल्खोरिया दह क्षेत्रमा पनि केही वर्षयता बाघको गतिविधि बढी देखिएको छ। यसबाहेक निकुञ्जसँग जोडिएको बारा र रौतहटका सामुदायिक वनहरुमा पनि बाघको उपस्थिति देखिएको छ। याे निकुञ्ज पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
