गाउँ-गाउँमा पुगेर नागरिकको दृष्टि फर्काइरहेछ स्थानीय सरकार

नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरी 'निःशुल्क आँखा जाँच र शल्यक्रिया अभियान' चलाउँदै आएको हो । यस अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिन्छ ।

पुस २६, २०८२

विनय आजाद

Local government is reaching out to villages to restore citizens' vision

What you should know

सिरहा — कठ्यांग्रिँदो जाडो । शनिबारको दिन । असहज महसुस हुने मौसम र बिदाको दिन भएका कारण पनि लहान नगरपालिका-२२ जहदीमा मानिसहरूको खासै चहलपहल थिएन । तर, बिहानको ९ बज्दै गर्दा गाउँकै बाटो हुँदै सामुदायिक विद्यालयमा एउटा सेतो बस पस्यो ।

सेतो बस आएको केही समयमै विद्यालय परिसरमा स्थानीय सर्वसाधारणको भीड लग्यो । यो बस थियो- सगरमाथा चौधरी आँखा अस्पताल, लहानको । आँखामा समस्या भएर जाडोको पर्वाहै नगरी स्वस्फूर्त रूपमा स्थानीयहरू यहाँ चेकजाँच गराउन आइपुगेका हुन् ।

यस विद्यालयमा गत शनिबार निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो, जहाँ सयौं स्थानीय सर्वसाधारणले आफ्ना आँखा जँचाए । लहान नगरपालिकामा २४ वडा छन् । यो नगरपालिकाका सबै वडामा विगत तीन वर्षदेखि यसैगरी आँखा शिविर चलिरहेको छ ।

नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरी 'निःशुल्क आँखा जाँच र शल्यक्रिया अभियान' चलाउँदै आएको हो । यस अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिन्छ । आँखा चेकजाँचका क्रममा औषधिले निको हुने बिरामीलाई निःशुल्क रूपमा औषधि, चस्मा आवश्यक पर्नेलाई चस्मा दिइन्छ । Local government is reaching out to villages to restore citizens' vision

मोतियाविन्दुलगायतका आँखाका बिरामीलाई भने लहानस्थित अस्पतालमा निःशुल्क शल्यक्रिया गरिन्छ । यसरी आँखा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै अस्पताललाई व्यहोर्छ । यतिमात्र नभई नगरपालिकाले नै नगर बसमा निशुल्क रूपमा अस्पतालसम्म लाने-पुर्‍याउने गर्छ । 

नगरपालिकाले यस अभियानका लागि प्रत्येक वर्ष २५ लाख रुपैयाँ बजेट नै विनियोजन गर्ने गर्छ । यस अभियानबाट आँखाका सामान्य बिरामीदेखि दृष्टि नहुनेसम्म लाभान्वित भएका छन् नै, दश हजारसम्म खर्च हुने उपचार सित्तैमा पाएपछि खासगरी विपन्न वर्गका बिरामीहरूलाई ठूलो राहत भएको छ ।

'खासगरी ग्रामीण क्षेत्रमा चेतना अभाव छ, अर्को भनेको नजिकमा आँखा उपचार गर्ने स्वास्थ्य संस्था हुँदैन, आर्थिक समस्या हुन्छ, यी कारणले आँखाको जाँच नै नगराउने प्रवृत्ति रहेको अवस्थामा यो अभियान नागरिकका लागि ठूलो सहयोग हो,' स्थानीय बिकु साहले भने, 'किनकि, आँखा मानवका लागि निकै अमूल्य चिज हो ।'

आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार, यो तीन वर्षमा नगरका २४ वटै वडामा गरी ४३ स्थानमा आँखा शिविर गरिएको छ । जसमा ११ हजार ४ सय ३१ जनाको आँखा जाँच भएको छ । यसमध्ये २ हजार ४ सय ४५ मा मोतियाविन्दु भेटिएको छ भने १८ सय ४० जनाको शल्यक्रिया गरिसकिएको छ । पाँच हजार ३ सय २१ जनालाई निशुल्क औषधि र पाँच सय १३ जनालाई चस्मा प्रदान गरिएको छ ।

यो अभियानले आँखाप्रति सर्वसाधारणलाई संवेदनशील बनाएको र समुदायस्तरमा स्वास्थ्य सचेतना पनि बढाएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । लहानलाई अब छिट्टै मोतियाविन्दुमुक्त नगर घोषणा गर्न लागिएको पनि चौधरीले बताए ।

'यो अभियानबाट समाजका सबैथरि मानिस लाभान्वित भएका छन्, आँखा र स्वास्थ्यप्रति नागरिकमा चेतना वृद्धि पनि भइरहेको छ, लहान अब छिट्टै मोतियाविन्दुमुक्त नगर बन्दैछ,' उनले भने, 'हामीले जति विकास गरे पनि नागरिक नै स्वस्थ छैन भने त्यसको औचित्य हुँदैन, यो अभियानबाट प्राप्त परिणामले सन्तुष्टि मिलेको छ ।'

समुदायस्तरमा अत्यन्तै प्रभावकारी बनिरहेको यो अभियान लहानपछि सिरहासहित सप्तरी, उदयपुरलगायतका छिमेकी जिल्लाका विभिन्न स्थानीय तहमा पनि विस्तार भइरहेको आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले बताए । तर, कतिपय स्थानीय तह भने अझै पनि यसप्रति उदासीन रहँदै आएको उनी सुनाउँछन् ।

'हामीले स्थानीय तहसँग अन्तरक्रिया नै गरेर सहकार्य गर्न आग्रह गरिरहेका हुन्छौं, लहानबाट प्रेरित भएर अरू पालिकाले पनि क्रमशः यो अभियान थालेको छ, अन्य जिल्लामा पनि विस्तार हुँदैछन्,' अध्यक्ष चौधरीले भने, 'तर, कतिपय पालिका अझै पनि उदासीन छन्, स्थानीय तहहरूले स्वस्फूर्त यसलाई दायित्व ठानेर गर्नुपर्‍यो ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully