बारामा एमालेबाट प्रतिनिधिसभा चुनावका लागि २८ जनाको नाम सिफारिस

सिफारिसमा परेकामध्ये केही ११औँ महाधिवेशनबाट निर्वाचित तथा पराजित नेताहरू छन् भने केही प्रदेशसभा सदस्यसमेत रहेका छन्।

पुस २४, २०८२

लक्ष्मी साह

UML recommends names of 28 people for House of Representatives elections in Bara

What you should know

बारा — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बाराले प्रत्यक्षतर्फ २८ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा परेकामध्ये केही ११औँ महाधिवेशनबाट निर्वाचित तथा पराजित नेताहरू छन् भने केही प्रदेशसभा सदस्यसमेत रहेका छन्।

चारवटा संघीय निर्वाचन क्षेत्र रहेको बारामा निर्वाचन क्षेत्र नम्बर १ का लागि ७ जना, क्षेत्र नम्बर २ का लागि ८ जना, क्षेत्र नम्बर ३ का लागि ३ जना र क्षेत्र नम्बर ४ का लागि ३ जना गरी २१ जना तथा निर्वाचन क्षेत्र नतोकी थप ७ जनासहित कुल २८ जनाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेले जानकारी दिए।

निर्वाचन क्षेत्र नम्बर १ बाट अच्युत मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरन चौधरी, सुदामादेवी राम र त्रिलोकी चौधरी सिफारिसमा परेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ का लागि बलवीर चौधरी, अमरदेवप्रसाद यादव, मखन पासवान, सत्यपाल यादव, राजेशप्रसाद साह, कौशलकिशोर सिंह, गौरीशंकरप्रसाद यादव र महपतिया देवी दुसादिनको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट अद्यानन्द पाण्डे, एम. समिउल्लाह र सीमा ठकुरी सिफारिसमा परेका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ का लागि अमरदेव यादव, कृष्णकुमार श्रेष्ठ र सीता गुरुङको नाम सिफारिस गरिएको छ।

यसैगरी निर्वाचन क्षेत्र नतोकी जिल्ला सचिवालयको सुझावमा ज्वालाकुमारी साह, गायत्री देवी, सीता सुवेदी, टिना सुवेदी, प्रतिमा यादव, रविन्द्र दास बनियाँ र फुलेना राउत अहिरको नाम सिफारिस गरिएको छ।

पटक-पटक मन्त्री बनेकी र निर्वाचन क्षेत्र नम्बर ३ बाट यसअघि पनि निर्वाचित ज्वालाकुमारी साहको नाम क्षेत्रबाट सिफारिसमा नआएपछि सचिवालयको सुझावमा क्षेत्र नतोको सिफारिस गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने उनी ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully