विशेष महाधिवेशनको पक्षमा मधेश प्रदेशका ५५ प्रतिशत महाधिवेशन प्रतिनीधिले हस्ताक्षर गरिसकेका छन् ।
What you should know
जनकपुर — विशेष कि नियमित महाधिवेशनबारे कांग्रेसमा विवाद चर्किएको बेला मधेश प्रदेशका बहुमत महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । विशेष महाधिवेशनको पक्षमा मधेश प्रदेशका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । उनीहरू पुस २६ गते रात्रिकालीन बसमा काठमाडौं प्रस्थान गर्ने तयारीमा छन् ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको सबै प्रक्रिया अघि बढाएका बेला मधेश प्रदेशमा यसको पक्षमा अझै महाधिवेशन प्रतिनिधि थप्ने अभियानमा थापा–शर्मा समर्थक कसरत गरिरहेका छन् । मधेश प्रदेशका ८ जिल्लामा ८ सय २३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४ सय १६ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर थपिने क्रममा रहेको थापा पक्षधर नेताहरूको दाबी छ ।
महामन्त्री थापा पक्षधर मधेश कांग्रेस समितिका उपसभापति वीरेन्द्र सिंहका अनुसार विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधि तान्न छलफल र कुराकानी भइरहेको छ । ‘विशेष महाधिवेशनमा सहभागी हुन हामी पुस २६ गते काठमाडौं जाँदैछौं,’ कांग्रेस मधेश समितिका उपसभापति सिंहले भने,‘हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिलाई पनि काठमाण्डौं जान आग्रह र खबर गरिरहेका छौं । संख्या अझै बढ्ला नै घटदैन ।’
कांग्रेस मधेशका उपसभापति सिंह महाधिवेशन प्रतिनिधि रहेको सर्लाही जिल्लाबाट १ सय ३ जना महाधिवेशन प्रतिनीधिमध्ये ७० जना विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । पर्सामा एक सय जना महाधिवेशन प्रतिनिधिमा ४० जना विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । महामन्त्री थापा समर्थक नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनको पक्षमा अझै ५–७ जना महाधिवेशन प्रतिनीधि थपिने बताए । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षका पर्साका नेता रमेश पाण्डेले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका धेरैजनाले फिर्ता लिइसकेकाले पर्साबाट बढीमा १४–१५ जना मात्र विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरे ।
बारामा पनि १ सय ४ जना महाधिवेशन प्रतिनिधिमा ६३ जना विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । रौतहटमा भने १ सय १० जना महाधिवेशन प्रतिनिधिमा २१ जना मात्रले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । रौतहट मधेश प्रदेश कांग्रेस समितिका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवको गृह जिल्ला हो । यादव भने देउवानिकट हुन् । महोत्तरीमा १ सय ५ जना महाधिवेशन प्रतिनिधिमा ५४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । महामन्त्री थापानिकट महोत्तरीका नेता पोषण थापाका अनुसार अझै ६ जना महाधिवेशन प्रतिनिधि सम्पर्कमा रहेकाले संख्या बढ्नेछ ।
यस्तै, धनुषामा एक सयजना महाधिवेशन प्रतिनिधिमा २३ जनाले विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । धनुषा देउवानिकट नेता विमलेन्द्र निधिको गृह जिल्ला हो । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनीधि बनेका जीवनाथ चौधरीले आफू पनि विशेष महाधिवेशनको पक्षमा रहेको बताए । ‘मलगायत अरु साथीहरु हस्ताक्षर गर्न बाँकी छ । त्यसैले धनुषामा पनि संख्या बढ्नेछ,’ चौधरीले भने,‘धनुषामा १०–१५ जना महाधिवेशन प्रतिनिधि अझै थपिनेछ ।’ उनका अनुसार कांग्रेसमा पुराना र शीर्ष नेताको मनपरी र हैकमवादविरुद्ध आफूहरु नयाँ नेतृत्वका लागि विशेष महाधिवेशनको पक्षधर बनेको हो ।
‘कांग्रेसमा सिमिति नेता र उनको परिवारले मात्र अवसर पाउने गरेको छ,’ चौधरीले भने,‘वर्षौंदेखि पार्टीप्रति समर्पित कार्यकर्ताले अवसर नै पाउँदैन् । नयाँ नेतृत्वले नै कांग्रेसलाई नयाँ दिशा र नीति लिने भएकाले विशेष महाधिवेशन हुनुपर्छ ।’
धनुषाबाटै महाधिवेशन प्रतिनिधि रहेका धीरेन्द्रमोहन झाले भदौ २३ गते भएको जेन–जी आन्दोलनको भावना र मर्मअनुसार पनि कांग्रेसमा युवा नेतृत्वको पालो आएको बताए । ‘कांग्रेसमा सधैं एउटै मान्छेको शासन कति दिनसम्म चल्ला ? सीमित नेताले नै लामो समयसम्म शासन गरे,’ उनले भने,‘मधेशका कांग्रेसीले पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा उभिएको छ ।’
यता, सिरहा जिल्लामा १ सय १ जना महाधिवेशन प्रतिनिधिमध्ये ७६ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । सप्तरीमा १ सयजना महाधिवेशन प्रतिनिधिमध्ये ६९ जना विशेष महाधिवेशनको पक्षमा उभिएको सप्तरी कांग्रेसका सचिव सनत मण्डलले जानकारी दिए ।
अघिल्लो महाधिवेशनमा पार्टी सभापति देउवाको गढ रहेको मधेश प्रदेश भने महामन्त्री थापाको बाक्लो दौडधुप र सम्बन्धका कारण उनका पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि उभिएका हुन् ।
