मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले घटनाबारे एसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।
What you should know
बारा — बाराको सीमावर्ती सुवर्ण गाउँपालिकाअन्तर्गत इलाका प्रहरी कार्यालय कवही गोठका इन्चार्ज प्रहरी नायब निरीक्षक सोनुकुमार मिश्रको पेस्तोल गायब भएको पाइएको छ ।
सात राउन्ड गोलीसहित हतियार गायब भएपछि मधेश प्रहरी कार्यालयले मधेस प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको छानबिन गरिरहेको छ ।
घटना एक सातापछि बाहिरिएको हो । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले घटनाबारे एसपी रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । 'पेस्तोल र गोली हराएको छ । कसरी हरायो र के भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने ।
घटनापछि इप्रकाका तत्कालीन इन्चार्ज रहेका सई मिश्रसहितका पूरै प्रहरी टिम (१२ जना) लाई प्रदेश प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको छ ।
छानबिन समितिका संयोजक प्रहरी उपरीक्षक रिजालका अनुसार घटनास्थल स्थलगत अनुगमन, सोधपुछ गर्दा धेरै विषय आएकोले छानबिनको दायरा बढाएर सूक्ष्म अनुसन्धान र छानबिन भइरहेको छ । उनका अनुसार कार्यालयमै सुतिरहेको बखत सिरानी मुनिबाट हराएको, गस्तीमा जाँदा बाटामा हराएको, सीमावर्ती क्षेत्रका तस्कर समूहले खोसेको हो कि भन्ने जस्ता कुराहरू आएका छन् ।
'छानबिन हुँदैछ, सबै सत्य तथ्य बाहिर आउँछ । कसुरदार देखिए कारबाही हुन्छ,' उनले भने । इप्रकाका इन्चार्जदेखि परिचरसम्मका कर्मचारीलाई प्रदेशमा तानेर छानबिन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार गत पुस ११ गते राति ११ बजे इन्चार्ज मिश्र सीमावर्ती सतगन्ज गाउँ एरियाबाट गस्ती गरेर फर्केपछि सिरानीमा राखेर सुतेका थिए र भोलिपल्ट बिहान हतियार हेर्दा नभेटिएको बताए । सीएफ ९८ / ९ एमएमको पेस्तोल सात राउन्ड गोलीसहित गायब भएको उनले बताए ।
'बाहिर जेजस्तो ट्वीस्ट आएको छ, त्यसमा सत्यता र तथ्य छैन,' उनले भने, 'हतियार सईको सिरानीबाटै हराएको हो।'
