अदालतका न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा भएको बहसपछि उनलाई दुई लाख रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए
राजविराज — हत्या अभियोगको आरोपपछि अदालतमा हाजिर भएका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल बिहीबार धरौटीमा रिहा भएका छन् । उनी बुधबार बिहान अदालतमा हाजिर भएका थिए । बुधबार र बिहीबार भएको बहसपछि उनी धरौटीमा रिहा भएका हुन् ।
अदालतका न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा भएको बहसपछि उनलाई दुई लाख रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए
३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । सो मुद्दामा पालिका मण्डलसहितका सात जनाविरुद्ध १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी रहेकै बेला मण्डल ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको झन्डै १० महिनापछि १४ फागुन ०७९ मा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले मुद्दा मुल्तबीमा राखेका थिए ।
अभियुक्तमध्येका तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल २ पुसमा नै अदालतमा हाजिर भएका थिए । ३ पुसमा अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले मण्डललाई दुई लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएपछि अध्यक्ष मण्डल पनि हाजिर भएका थिए ।
सो मुद्दाका अन्य अभियुक्त गाउँपालिका अध्यक्ष मण्डलकै बुवा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, सोही ठाउँका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर अझै फरार छन् । अभियोगपत्रअनुसार अध्यक्ष मण्डलकै बुवा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमान्दा विवाद भएको थियो ।
