परवानीपुरमा १३ औं राष्ट्रिय पोल्ट्री दिवस

२०७० पुस १७ गते बाट नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालिएको हो ।

पुस १७, २०८२

शंकर आचार्य

13th National Poultry Day in Parwanipur

What you should know

पर्सा — राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरमा बिहीबार १३ औं राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । यस अवसरमा कृषकका लागि बनाइएको आधुनिक शेडको पनि शुभारम्भ गरिएको छ । 

कार्यक्रम संयोजक डा अजितकुमार झाले कुखुरा पालक कृषक, पशु चिकित्सक, वैज्ञानिक, पशु प्राविधिक, ह्याचरी, कुखुरा व्यवसायी, दाना व्यवसायी, औषधि तथा खोप उत्पादक, औषधि बिक्रेता तथा सम्पूर्ण सरोकारवालालाई शुभकामना व्यक्त गरेका थिए ।

झाले नेपालको अर्थतन्त्रमा पन्छीपालन क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै हाल यस क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा ८ प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको बताए ।

नेपाल मासु र अण्डामा आत्मनिर्भर भइसकेको बताउँदै डा झाले पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब १ सय ८१ दशमलव ३ हजार मेट्रिक टन कुखुराको मासु र १ दशमलव ५ अर्ब भन्दा बढी अण्डा उत्पादन भइरहेको बताए । यस क्षेत्रमा करिब १ खर्ब ६० अर्ब भन्दा बढीको निजी लगानी रहेको पनि उनले बताए ।

२०७० पुस १७ गते बाट नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालिएको हो । नेपालमा ब्रोइलर तथा लेयर्ससँगै ग्रामीण कुखुराको पनि त्यत्तिकै योगदान रहेको बताउँदै डा झाले नेपालको कुल कुखुराको संख्यामध्ये करिब ४५ प्रतिशत हिस्सा अझै पनि परम्परागत घरायसी वा ग्रामीण पद्धतिबाट पालिएका पन्छीहरूको रहेको बताए ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमले आव २०८१/०८२ मा ६ वटा अनुसन्धानमुखी परियोजना सफलतापूर्वक सम्पन्न गरेको पनि उनले बताए । यस क्रममा नेपालमै पहिलो पटक टर्की प्रजनन र पहिलो पटक टर्कीमा कृत्रिम गर्भाधानको प्रयास गरी आंशिक सफलता प्राप्त भएकाले यसले टर्कीको नश्ल सुधारमा ठूलो मद्दत पुर्‍याउने पनि उनले बताए ।

त्यसैगरी, बट्टाईमा गरिएको अनुसन्धानले प्रोबायोटिकको प्रयोगबाट शारीरिक तौल र अण्डा उत्पादन क्षमतामा सुधार आएको देखाएको उनले बताए । ब्रोइलर कुखुराको दानामा नानो नानो कपर अक्साइडको प्रयोग गर्दा ब्रोइलर कुखुराको तौल र दाना खपत दरमा सकारात्मक नतिजा पाइएको पनि उनले बताए ।

अनुसन्धानबाटै दुई उद्देश्य कुखुराहरूबाट एउटा नयाँ नेपाली जातको कुखुरा विकास गर्ने काम थालनी भएको पनि उनले बताए । कार्यक्रमले विभिन्न जातका लगभग १५ हजार कुखुराका चल्ला, ५ हजार बट्टाईका र १ हजार टर्कीको चल्ला किसानलाई बिक्री वितरण गरेको उनले बताए ।

किसानहरूमाझ न्यु ह्याम्पसायर, ब्ल्याक अस्ट्रालोप, गिरिराज र कडकनाथ जस्ता उन्नत जातका कुखुराको माग अत्यधिक रहेको पनि उनले बताए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully