म मुख्यमन्त्री बन्न आएको हैन, एक सिपाही भएर काम गर्न चाहन्छु : मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले सबैको हातेमालो र स्थिर सरकार भए पाँच वर्षभित्र नेपाललाई स्विजरल्यान्डभन्दा राम्रो बनाउने दाबी गरेका छन्।

पुस १६, २०८२

सुनिता बराल

I am not here to become the Chief Minister, I want to work as a soldier: Chief Minister Yadav

महोत्तरी — मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफू मधेसको एक सिपाही भएर काम गर्ने बताएका छन् । धनुषा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशले राखेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै यादवले पछिल्लो समय मधेसको राजनीतिलाई लिएर भएको टीकाटिप्पणी र परेको नराम्रो छाप चिर्ने गरी आफू काम गर्न आएको बताए ।

'यहाँ रातारात जे पनि हुन सक्छ,' उनले भने, 'म दिन गनेर बसेको छैन, जुन दिनदेखि जिम्मेवारी छु, सिपाही भएर काम गरेको छु, गरिरहन्छु ।' हरेक मिनेट–मिनेटमा काम गरेर देखाउने यादवले बताए ।

सबै मिलेर हातेमालो गर्दै अघि बढ्ने हो भने पाँच वर्षमा स्विजरल्यान्डभन्दा नेपाल राम्रो बनाउन सकिने यादवले बताए ।

राजनीतिक अस्थिरताले हिजोका मुख्यमन्त्रीले केही गर्न नसकेका र आफूले पनि केही गर्न नसक्ने भन्दै मुख्यमन्त्री यादवले सबैको साथ र सहयोगले नै आफ्नो कार्यकाल सफल हुने विश्वास रहेको बताए ।

अहिले कृषि, शिक्षा, स्वास्थ्यलाई आफूले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । मधेस पर्यटनको सम्भावना भएको तर पर्यटक ल्याउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

मधेसको पर्यटकीय सम्भावना पहिचान गरी गर्न सकिने विकास पनि मधेसमा स्थिर सरकार नहुँदा गर्न नसकेको र पर्यटन ल्याउन मधेस सरकारले स्वामित्व नलिएको विषय उठेपछि मुख्यमन्त्री यादवले पर्यटन बोर्ड मधेसमा बनाउने सन्दर्भमा आफूले गृहकार्य गर्ने र अघि बढाउने होटल तथा पर्यटन व्यवसायीलाई बताए ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully