टहरामा चिसो छल्न सकस : विपन्न परिवारलाई युवाको सहयोग

‘कान्तिपुर’ मा समाचार प्रकाशित भएपछि मंगलबार बिहान युवाहरुले ५ हजार एक सय नगदसहितका सहयोग उपलब्ध गराएका हुन् ।

पुस १५, २०८२

विद्यानन्द राम

राजविराज — सप्तरीको राजविराज नगरपालिका–५ स्वर्ण टोलका अनबहादुर आले मगरका परिवारले सहयोग पाएका छन् ।

ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका मगरको गत शुक्रबार बेलुका मृत्यु भएपछि उनका परिवारलाई किरिया खर्च र छाक टार्नका लागि कठिन भइरहेको थियो ।

‘कान्तिपुर’ मा समाचार प्रकाशित भएपछि मंगलबार बिहान युवाहरुले ५ हजार एक सय नगदसहितका सहयोग उपलब्ध गराएका हुन् । त्रिपाल, ब्ल्यांकेट, डस्ना, चामल, दाल, तेल, मुरही, चिउरा, मसाला लगायतका सरसमान उपलब्ध गराएको अगुवा युवा अफरोज आलमले बताए ।

‘उहाँहरुलाई किरिया खर्चका साथै छाक टार्न समस्या भइरहेको विषय समाचारबाट थाहा पाएपछि युवाहरु मिलेर पीडित परिवारलाई सानो सहयोग उपलब्ध गराएका छौं,’ उनले भने, ‘उहाँहरुको दैनिकी सहज पार्नका लागि हामी अझ प्रयासमा छौं ।’ 

मगरको ७२ वर्षको उमेरमा मृत्यु भएपछि उनकी माइली छोरी १८ वर्षकी इनिशा र कान्छी १६ वर्षकी एरिका करियापुत्री बसेकी छन् । किरियापुत्रीलाई छुट्टै बस्न दिनुपर्ने परम्पराका कारण एउटै टहरो रहँदा शीतलहरको बेला दीपाले बाहिरै त्रिपालमुनि बस्नुपर्ने बाध्यता झेल्दै आएकी छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully