ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका मगरको गत शुक्रबार बेलुका मृत्यु भएपछि परिवारलाई किरिया खर्च र छाक टार्नका लागि कठिन भइरहेको थियो ।
राजविराज — किरिया खर्चका लागि अभाव खेपिरहेका सप्तरीको राजविराज नगरपालिका–५ स्वर्ण टोलका अनबहादुर आले मगरका परिवारलाई सप्तरी युथ नेपालले पनि सहयोग गरेको छ।
मंगलबार बिहान युथका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवसहितका युवाहरु उनको घरमै पुगेर ५ हजार ५० रुपैयाँ नगदसहित खाद्य बस्तु सहयोग गरेका हुन् ।
अभावको विषयमा ‘कान्तिपुर’मा समाचार प्रकाशित भएपछि उनीहरुले ५० किलो आलु, २५ किलो चामल, ५/५ किलो दाल, चना, मुरही र नुन, एक थान त्रिपाल, दुई थान ब्ल्याङ्केट सहयोग गरेका हुन्।
ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका मगरको गत शुक्रबार बेलुका मृत्यु भएपछि परिवारलाई किरिया खर्च र छाक टार्नका लागि कठिन भइरहेको थियो ।
७२ वर्षको उमेरमा मृत्यु भएको मगरकी माइली छोरी १८ वर्षकी इनिशा र कान्छी १६ वर्षकी एरिका करियापुत्री बसेकी छन् । किरियापुत्रीलाई छुट्टै बस्न दिनुपर्ने परम्पराका कारण एउटै टहरो रहँदा शीतलहरको बेला उनकी श्रीमती दीपाले बाहिरै त्रिपालमूनि बस्नुपर्ने बाध्यता झेल्दै आएकी छन् ।
यसअघि बिहान स्थानीय युवाहरुले ५ हजार १ सय नगदसहित त्रिपाल, ब्ल्यांकेट, डस्ना, चामल, दाल, तेल, मुरही, चिउरा, मसालालगायतका सरसमान उपलब्ध गराएका थिए ।
