शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गर्न थालेकाले कार्यालय र किसान दुबैलाई सहज भएको सूचना अधिकृत मुनिलाल कुशवाहाले बताए।
What you should know
पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले सोमबारसम्म २ हजार ६ सय ६४ क्विन्टल ९५ किलो धान खरिद गरेको छ।
शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहाले पुस ६ देखि धान खरिद सुरु गरिएकोमा सोमबारसम्म यति परिमाणमा धान खरिद भएकाे बताए ।
शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गर्न थालेको हो । यो प्रणालीले कार्यालय र किसान दुबैलाई सहज भएको कुशवाहाले बताए।
यसअघिनै किसानलाई ४० क्विन्टल धान खरिदको दरले टोकन वितरण गरिसकेकाले किसानले आफ्नो पालो परेको दिनमात्र धान बिक्री गर्न ल्याइरहेकाले अघिल्ला वर्षको जस्तो भीड नभई व्यवस्थित ढंगबाट खरिदबिक्री भइरहेको उनले बताए ।
धान खरिद गर्नुअघि कार्यालयबाट १ सय ७० वटा टोकन वितरण गरिएको थियो। केही किसानले शीतलहरका कारण धान ल्याउन अप्ठेरो भएको बताइरहेका छन् । लक्ष्य अनुरुप टोकन लगेका किसानले धान नल्याए वैकल्पिक व्यवस्थाका लागि थप एक दर्जन किसानलाई टोकन वितरण गरिएको उनले बताए ।
टोकन पाएका किसानबाट लक्ष्य अनुरुप धान नआए प्रतिक्षा सूचीमा रहेका किसानबाट खरिद गरिने उनले बताए ।
हालसम्म पर्सा, बारा र रौतहट जिल्लाबाट समेत किसानले धान बिक्रीका लागि ल्याइसकेका छन् । शाखाबाट सर्लाहीका किसानले पनि टोकन लगेका छन् ।
यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । टोकन लगेका किसानबाटै यति परिमाणमा धान खरिद हुने सम्भावना रहेको कुशवाहा बताउँछन् । यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ। सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ।
गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न किसान आएनन् । गत वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको लक्ष्य शाखाको थियो ।
सामान्यतया खाद्यले धान खरिद सुरु गर्नुअघि यस भेगमा निजी व्यवसायीले धान खरिद सुरु गरी सक्छन् । निजी क्षेत्रले सरकारले तोकेको समर्थन मूल्य भन्दा बढी मूल्य दिएपछि किसानले खाद्यलाई भन्दा व्यापारीलाई धान बिक्री गर्न रुचाउँछन्।
यस वर्ष व्यापारीले धानको मूल्य नबढाउँदै खाद्यले धान खरिद सुरु गरेकाले किसानले खाद्यलाई नै बिक्री गर्न ल्याएका छन् । यस वर्ष माघ ४ सम्म लक्ष्य अनुरुपको धान खरिद गरिसक्ने योजना रहेको कुशवाहाले बताए ।
