बिहेको प्रलोभन देखाएर बलात्कार गरेको विषयमा नाबालिकाले परिवारजनलाई जानकारी गराएपछि आइतबार उनीहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
राजविराज — बिहेको प्रलोभन देखाएर सप्तरीको राजविराज नगरपालिकाकी एक नाबालिकामाथि करणी गरेकाे आराेपमा नाबालक पक्राउ परेका छन् ।
तीन/चार महिनाअघि चिनजान भएका १७ वर्षका बालकले शनिबार साँझ १२ वर्षकी बालिकालाई बलात्कार गरेको पीडितकाे आराेप छ ।
बिहेको प्रलोभन देखाई बलात्कार गरेको विषयमा नाबालिकाले परिवारजनलाई जानकारी गराएपछि आइतबार उनीहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी अनुसार ती नाबालकले बिहे गर्छु भन्दै नाबालिकालाई बोलाएर बलात्कार गरेका थिए ।
आरोपित नाबालकलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए । ‘उनीमाथि जबर्जस्ती करणी मुद्दामा आइतबारै सप्तरी जिल्ला अदालतबाट सात दिन म्याद थप लिएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
यसअघि गत मंसिर ६ मा पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी १५ वर्षकी बालिकालाई बिहेको प्रलोभनमा झापाको बिर्तामोड बोलाएर २१ वर्षका युवकले बलात्कार गरेका थिए । उक्त घटनामा जिल्ला प्रहरी झापाले जाहेरी दर्ता गरी अनुसन्धान गरिरहेको छ ।
