प्राध्यापक दासका परिवारजनले गरिब र जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन अक्षय कोष स्थापना गरेका हुन् ।
पर्सा — गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन वीरगन्जका मनीष दासले चित्रगुप्त समिति वीरगन्जलाई अक्षय कोष स्थापनार्थ ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
चित्रगुप्त संरक्षक परिषद्का पूर्वअध्यक्ष वीरगन्ज महानगरपालिका-१ निवासी स्व प्राडा कुलानन्दलाल दासको स्मृतिमा उनकी धर्मपत्नी रम्भादेवी दास तथा छोराहरू सुभाषकुमार दास र मनीष दासले चित्रगुप्त समिति वीरगन्जलाई अक्षय कोष स्थापनाका लागि उक्त रकम उपलब्ध गराएका हुन्। वरिष्ठ शिक्षाविद् प्राडा दास ठाकुरराम क्याम्पस वीरगन्जमा कार्यरत थिए ।
दाता परिवारका तर्फबाट मनीष दास र हेमाकुमारी दासले चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास एवं कोषाध्यक्ष डा. आलोकचन्द्र दत्तलाई चेक हस्तान्तरण गरेका हुन् । प्राध्यापक दासका परिवारजनले उनको नाम चिरस्मरणीय राख्नका लागि अक्षयकोष स्थापना गरी चित्रगुप्त समितिमार्फत गरिब र जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन उक्त रकमसहितको अक्षय कोष स्थापना गरेका हुन् ।
