माइती नेपालद्वारा वीरगन्ज नाकाबाट यो वर्ष १६३ को उद्धार

सीमामा निगरानीको क्रममा जोखिमपूर्ण रुपमा भारत तथा त्यहाँबाट तेस्रोमुलुक जान लागेका महिला तथा बालबालिकालाई सीमापारि जानबाट रोकिएको हो ।

पुस १३, २०८२

शंकर आचार्य

Maiti Nepal rescues 163 people from Birgunj border this year

What you should know

पर्सा — मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था माइती नेपाल वीरगन्ज आवधिक गृहले सन् २०२५ मा वीरगन्जस्थित नेपाल भारत सीमा नाकाबाट १ सय ६३ महिला तथा बालबालिकाको उद्धार गरेको छ।

सीमामा निगरानीको क्रममा जोखिमपूर्ण रुपमा भारत तथा त्यहाँबाट तेस्रोमुलुक जान लागेका महिला तथा बालबालिकालाई सीमापारि जानबाट रोकिएको हो ।

माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख पर्यवेक्षक गोमा कुमारी पौडेलले सन् २०२५ को शनिबारसम्म गरी सीमा नाकाबाट उद्धार गरिएका १ सय ६३ मध्ये १ सय ३० जनालाई गृहमा ल्याइएको र ३३ लाई सीमाबाटै अभिभावक तथा प्रहरीको जिम्मा लगाई समेत सोझै नेपाल फर्काइएको जानकारी दिएन् ।

फर्काइएका १ सय ६३ मध्ये ४० जना १८ वर्षसम्मका छन् भने १ सय २३ जना १९ वर्ष माथिका छन् । गृहले यस अवधिमा सन्चालन गरेको दिवसीय तथा अन्य कार्यक्रमबाट २ हजार ७ सय ७४ जना लाभान्वित भएका छन् ।

यस अवधिमा २ हजार ३ सय ५३ जनालाई चेतनामूलक जानकारी पत्र वितरण, २० हजार २ सय ३१ सवारी साधनलाई जाँच, २२ हजार ५ सय जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष सूचना सम्प्रेषण र ३१ जनालाई सामान्य स्वास्थ्य उपचार सेवा दिइएको पौडेलले बताइन् ।

यस वर्ष भारत बिहारको छपरा, सिवान, मोतिहारी, छौडादानोलगायतका स्थानबाट अर्केष्टा नृत्य समूहमा जोखिमपूर्ण रुपमा काम गरी रहेका १८ जना नेपाली चेलीहरुलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरी ल्याइएको उनले बताइन् ।

यस वर्ष सीमा क्षेत्रमा रोकेर गृहमा ल्याइएका १ सय ३० जना मध्ये ३२ जनाले भारतको पटनामा रहेको वि–विनर नेटवर्किङ कम्पनीमा काम गर्न जान लागेको बताएका थिए । ३६ जना सानै उमेरमा प्रेममा परी भागेर जान वा प्रेमीलाई भेट्न जान लागेका थिए । २४ जना आफू जाने स्थान सम्बन्धी कुनै जानकारी नभएका थिए ।

१७ जना किनमेल गर्न जाने बहानामा, ६ जना काम गर्न जाने बहानामा, ४ जना आफन्त भेटघाट गर्न जाने बहानामा, ६ जना आर्केष्ट्रा नृत्य समूहमा, २ जना औषधिउपचार गर्न, दुई जना भारत जान लागेको र १ जनाले तेस्रोमुलुक जान लगाएको बताएका थिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully