नक्कली नोटको कारोबार बढेको भन्दै राष्ट्र बैंकद्वारा गम्भीर चासो व्यक्त

राष्ट्र बैंक वीरगन्ज शाखाका अधिकृत नरेश सर्राफले नक्कली नोटमा सुरक्षा धागो र वाटरमार्क स्पष्ट नदेखिने, कागजको गुणस्तर कमजोर हुने, अक्षर र रंग फिक्का देखिने जस्ता लक्षण हुने बताए ।

पुस ९, २०८२

शंकर आचार्य

Nepal Rastra Bank expresses serious concern over increase in counterfeit currency transactions

पर्सा — सीमावर्ती जिल्लामा पछिल्लो केही समययता नक्कली नोटको कारोबार तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्र बैंक वीरगन्ज शाखाले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी नक्कली नोट पहिचान, वित्तीय ठगी तथा साइबर अपराधबाट बच्ने उपायबारे सुझाएको छ।

पत्रकार सम्मेलनमा शाखा प्रबन्धक सुशील पौडेलले हालका दिनहरूमा विशेष गरी १ हजार दरका नक्कली नोट भेटिन थालेकाले सर्वसाधारण सचेत हुनुपर्ने बताए । उनले प्रारम्भिक अवस्थामा सीमित संख्यामा देखिएका नक्कली नोटको यो समस्या हाल ठूलो बन्दै गएकाले जोखिम झनै बढेको बताए ।

पत्रकार सम्मेलनमा नक्कली नोट कसरी चिन्ने भन्नेबारे पनि जानकारी दिइएको थियो । शाखाका अधिकृत नरेश सर्राफले नक्कली नोटमा सुरक्षा धागो र वाटरमार्क स्पष्ट नदेखिने, कागजको गुणस्तर कमजोर हुने, अक्षर र रंग फिक्का देखिने जस्ता लक्षण हुने बताए ।

उनले राष्ट्र बैंकले बैंक, वित्तीय संस्था तथा ठूला व्यापारीलाई फेक नोट डिटेक्टर मेसिन प्रयोग गर्नसमेत आग्रह गरे । सर्राफले नक्कली नोट प्रयोग गर्नेलाई कडा कारबाही हुने बताए । यस्तो नोट भेटिएमा तत्काल नजिकको बैंक वा सुरक्षा निकायमा बुझाउन पनि उनले आग्रह गरे । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully