मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय मात्र होइन, अधिकांश मन्त्रालय निमित्त सचिवका भरमा चलेका छन्
What you should know
जनकपुर — मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालय निमित्त सचिवकै भरमा चलेका छन् । प्रदेश सरकारको प्रमुख सचिव नै निमित्त रहेका मधेशका अधिकांश मन्त्रालयका सचिव पनि निमित्त नै छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय पनि निमित्त सचिवकै भरमा चलेको छ । सह–सचिव रामकुमार महतो मधेश प्रदेश सरकारका निमित्त प्रमुख सचिव हुन् । अर्थ मन्त्रालयका सचिव रहेका महतोलाई निमित्त प्रदेश सचिवको समेत जिम्मेवारी तोकिएको छ ।
मधेश प्रदेशका तत्कालीन प्रमुख सचिव मदन भुजेलको गत कात्तिकमा सरुवा भएपछि निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका जयकुमार घिमिरेको पनि पुसको पहिलो साता सरुवा भयो । त्यसपछि यसैसाता महतोलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवलाई प्रमुख सचिव तोक्ने र चार सह–सचिवलाई सचिवको जिम्मेवारी दिने गरिएको छ । तर, मुख्यमन्त्री कार्यालयमा यमेन्द्र उपाध्याय मात्र प्रशासन महाशाखाको सचिवको जिम्मेवारीमा छन् । संघीय सरकारले प्रदेशमा सचिवलाई प्रमुख सचिव र सह–सचिवलाई सचिवको जिम्मेवारी तोक्ने गरेको छ ।
मधेश प्रदेश प्रमुखको कार्यालय भने निमित्त सचिवको भरमा चलेको धेरै भयो । प्रदेश प्रमुखको कार्यालयमा शत्रुधन यादव करिव दुई वर्षदेखि निमित्त सचिवको जिम्मेवारीमा छन् । गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफैंसँग राखेका छन् भने त्यो मन्त्रालयमा पनि निमित्त सचिव गणेश नायकलाई तोकिएको छ । गत कात्तिकमा सचिवबाट सरुवा भएका विमल रिजालको ठाउँमा गत कात्तिक २५ गते नायकलाई निमित्तको जिम्मेवारी तोकिएको थियो ।
यस्तै, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा पनि निमित्त सचिव नै छन् । मधेश प्रदेश सरकारको सबैभन्दा बढी बजेट करिब १६ अर्ब रुपैयाँ परिचालन गर्ने भौतिक पूर्वाधार तथा विकास मन्त्रालय हाल मन्त्रीविहीन मात्र होइन, निमित्त सचिवकै भरमा दुई वर्षदेखि चलिरहेको छ । हाल उक्त मन्त्रालयमा सञ्जयप्रसाद साहलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको पनि दुई वर्ष पुगेको छ । मन्त्रालयको आधिकारिक वेबसाइटमा भने मन्त्री भनेर यसअघिका मुख्यमन्त्री सरोजकुमार यादव(महोत्तरी)कै तस्बिर र नाम अझै राखिएको छ ।
मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पनि निमित्त सचिव नै छन् । उक्त मन्त्रालयको जिम्मेवारी निमित्त सचिव रामकुमार खंगले पनि दुई वर्षदेखि सम्हालिरहेका छन् । शिक्षा तथा संस्कृति मन्त्रालय पनि निमित्त सचिवकै भरमा चलेको दुई वर्षभन्दा बढी भएको छ । उक्त मन्त्रालयमा दीलिपकुमार ठाकुरलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ । यस्तै, खेलकुद तथा समाजकल्याण मन्त्रालयमा पनि निमित्त सचिव नै छन् । उक्त मन्त्रालयको निमित्ति सचिवमा रंजितकुमार यादवलाई गत जेठमा ल्याइएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता यमेन्द्र उपाध्यायले माथिल्लो तहका सचिवहरू नभएकाले धेरैजसो मन्त्रालयमा निमित्त सचिव तोकिएको बताए । ‘संघट्ठय सरकारले सचिवहरू सरुवा गर्ने हो,’ उनले भने,‘माथिल्लो तहका आएपछि निमित्त स्वतः हट्दै जानेछन् ।’
तर, मधेश प्रदेश सरकारकै श्रम तथा यातायात मन्त्रालयमा सचिव युवराज अधिकारी, वन तथा वातावरण मन्त्रालयमा सचिव जीवनाथ पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिव उमेश दाहाल रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार नै सचिवमा प्रमोद यादवलाई जिम्मेवारी तोकिएको छ ।
