‘खेसारीको दाल र सागको बढी सेवनले समस्या बढ्दै’
What you should know
पर्सा — न्युरो इन्टरनेशनल नेपाल र आशा किरण केन्द्रको सहकार्यमा शुक्रबार वीरगन्जमा सम्पन्न एक दिने मस्तिष्काघात छारे रोग र मानसिक सुक्ष्मता सम्बन्धी शिविरमा स्क्रिनिङ गरिएका तीन दर्जन मस्पिष्काघात पीडित बालबालिकामध्ये दुईको शल्यक्रिया गर्न सकिने अवस्था भेटियो ।
शिवरमा स्क्रिनिङ गर्न आइपुगेका अन्नपूर्ण न्युरो अस्पताल माइतीघरका वरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले ती मध्ये एक ७ वर्षीय बालकमा छारे रोग र अर्का १२ वर्षीय बालकमा छारे रोगसँगै हात बाँङ्गिने समस्या पनि रहेको बताए । ‘दुबैको शल्यक्रिया गर्न सकिने देखियो,’ उनले भने, ‘हामी दुबैको निःशुल्क शल्यक्रिया गर्ने छौं, त्यसपछि उनीहरुको अवस्थामा व्यापक सुधार आउने छ ।’ यो शल्यक्रिया उच्च प्रविधिको हुने उनले दाबी गरे ।
शिविरमा आएका अन्य बिरामीका अभिभावकलाई परामर्श, कुनै बिरामीलाई फिजियोथेरापी र कसैलाई औषधि दिएर पठाइएको उनले बताए ।
तराईमा छारे रोग र मानसिक सुक्ष्मतासम्बन्धी समस्या बढी
नेपालको एक मात्र न्युरो सर्जनको रुपमा चर्चित डा बसन्त पन्त हिमाल र पहाडको तुलनामा तराई मधेशमा छारे रोग र मानसिक सुक्ष्मता सम्बन्धी समस्या बढी रहेको आफूले अनुभव गरेको बताउँछन् ।
यस सम्बन्धमा आधिकारिक अध्ययन हालसम्म नेपालमा नभएता पनि आफूले दैनिक भेटिने छारे रोग र मानसिक सुक्ष्मतामा बिरामीहरु तुलनात्मक रुपले तराई मधेशकै बढी हुने गरेको पाएको उनले बताए । ‘यो मेरो अनुभवले पनि भन्छ,’ उनले भने, ‘तराईकै बालबालिकामा यो समस्या किन बढी देखिन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था पनि छैन ।’
तराई र खेसारीको दालको सम्बन्ध
तराईबासीले अझै पनि खेसारीको साग र दाल खाने प्रवृत्तिले तराईमा छारे रोग र मानसिक सुक्ष्मतासम्बन्धी समस्या बढी देखिएको हुन सक्ने डा पन्त बताउँछन् । खेसारीमा मानवको नशालाई बिगार्ने न्युरो टक्सिनको प्रचुर मात्रा हुन्छ ।
‘तराईमा अज्ञानतावश वा जानजान पनि खेसारीको साग वा दाल खाने प्रवृत्ति अझै पनि व्यापक छ,’ उनले भने, ‘तराईमा जाडोको समयमा खेतमा आफै उम्रिने यो झारको कतिपय साग खाने र कतिपयले दाल पनि खाने गर्छन् ।’ धेरैमा यो प्रकृतिबाट निःशुल्क पाइने साग र दाल भएकाले यसले कुनै पनि नोक्सान गर्दैन भन्ने बुझाई रहेकाले पनि यसको निर्वाध र अन्धाधुन्ध सेवन गरी रहेको डा पन्तको बुझाई छ ।
यो वनस्पतिको सम्बन्धमा नेपाल सरकारले अध्ययन अनुसन्धान गरेर यसको सेवनलाई न्यूनीकरण गर्न व्यापक प्रचार प्रसार आवश्यक रहेको पनि उनले बताए । नेपालमै हाल खेसारीको दालको प्रयोगशाला परीक्षण गर्ने व्यवस्था नरहे पनि दक्षिण भारतमा सरकारी स्तरकै प्रयोगशालामा यसको परीक्षण गर्ने सुविधा रहेकाले सरकारी स्तरबाटै खेसारीको दालको प्रयोगशाला परीक्षण गराएर त्यसमा रहेको हानिकारक तत्वहरु बारे जनचेतना फैलाउन ढिलाई गर्न नहुने उनले बताए ।
नेपालमा हालै राष्ट्रिय अटिजम केन्द्र धनगढीको गेटामा स्थापना भएको र उक्त संस्थाले विस्तारै यस क्षेत्रमा काम गरी रहेको डा पन्त बताउँछन् ।
आशा जगाउँदै आशा किरण केन्द्र
आशा किरण केन्द्र वीरगन्ज र आसपासमा रहेका अटिजम पीडित बालबालिकाकाहरुको स्वास्थ्य र जीवन स्तर सहज बनाउने काममा ११ वर्षदेखि सक्रिय रहेको छ । वीरगन्जको सिद्धार्थ मावि परिसरमा केन्द्रले आफ्नै भवनबाट यस भेगका अटिजम पीडित बालबालिकाहरुलाई दैनिक स्वास्थ्य, औषधोपचार, शारीरिक अभ्यास, थेरापी आदि निःशुल्क सेवा दिइरहेको छ ।
बिहान १० बजे उनीहरुलाई केन्द्रको सवारीले घर घरबाटै ल्याएर केन्द्रमा पोशाक लगाउने, प्रार्थना गराउने, शारीरिक सरसफाइ, अभ्यास गरेर अध्ययन समेत गराइन्छ । यस क्रममा उनीहरुलाई निःशुल्क खाना र फिजियो थेरापी सेवासमेत दिइन्छ ।
उनीहरुलाई नृत्य, संगीत, थेरापि फिजियो तथा थेरापि स्पिच स्वास्थ्य सेवा समेत निःशुल्क उपलब्ध गराइन्छ । केन्द्रका संस्थापक तथा अध्यक्ष सुनिल गुप्ता हाल केन्द्रमा अढाई दर्जन अटिजम पिडित बालबालिकाहरुलाई यस्तो सेवा तथा उपचार व्यवस्था उपलब्ध गराइएको बताउँछन् ।
अटिजमको क्षेत्रमा नेपालमा हालसम्म निःशुल्क रुपमा विशेषज्ञ सेवा उपचार उपलब्ध नरहेको सन्दर्भमा केन्द्रले यो सेवा ११ वर्षदेखि थुप्रै अटिजम पीडित बालबालिकालाई उपलब्ध गराइरहेको गुप्ता बताउँछन् । केन्द्रमा दैनिक यस्ता बालबालिकालाई आयमूलक शिपमूलक तालिमहरु पनि दिने गरिएको छ । मैनबत्ति तथा अन्य वस्तु उत्पादन गरेर उनीहरुले आम्दानी पनि गर्छन् । दिनभरी केन्द्रमा बस्ने बालबालिकालाई साझ फेरी घर घरै पुर्याइन्छ ।
यसले अटिजम पीडित बालबालिकाले व्यवस्थित उपचार पाउने र अर्कोतिर तिनका बुवा आमाले दिनभरी स्वतन्त्र भएर आफ्नो कामकाज पनि गर्न पाउँछन् ।
