आफ्नो क्रसर अवैध रहेको र यसरी विद्युत् प्रयोग गर्न नपाइने भन्ने कुरा आफूलाई थाहा नभएको गौतमको दाबी छ ।
What you should know
सिरहा — क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी मापदण्ड, २०८० अनुसार राजमार्गभन्दा पाँचसय मिटर दूरीभित्र क्रसर सञ्चालन गर्न पाइन्न । यसका अलावा क्रसर खोला वा नदी किनार र पक्की पुलदेखि ५ सय मिटर टाढा हुनुपर्ने, घना मानव बस्तीभन्दा २ किलोमिटर टाढा हुनुपर्नेलगायतका प्रावधान छन् ।
तर, यी कानूनी मापदण्डलाई कुल्चदै सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमै गागन नदीको पुल छेउमा एक दशकभन्दा लामो समयदेखि अवैध र निर्वाध रुपमा सन्नी क्रसर उद्योग सञ्चालनमा छ । यो क्रसर जुन ठाउँमा छ, त्यहाँ चारैतिर घना मानव वस्ती पनि छन् ।
यो उद्योग मापदण्ड विपरीत पर्ने भएकोले यसले कानुनः बिजुली पनि लिन मिल्दैन, लिएको पनि छैन । तर, अनौठो कुरा के भने यस क्रसरको नाममा विद्युत् लिन नमिल्ने भएपछि यहाँ वडा नम्बर ९ मा दर्ता रहेको चुलाचुली गिट्टी बालुवा प्रशोधन उद्योगको बिजुली गैरकानुनी रुपमा प्रयोग भइरहेको पाइएको छ ।
मापदण्डभित्रका ठूला क्षमताका उद्योगलाई उपलब्ध गराइने २ सय ५० केभीएको ट्रान्सफर्मर यो क्रसरलाई नेपाल विद्युत् प्राधिकरणले जडान गरिदिएको छ । यसरी मापदण्ड नै नपुग्दा पनि सञ्चालन अनुमति दिनु, एउटा वडामा दर्ता रहेको उद्योगको बिजुली अर्कै वडामा रहेको अन्य उद्योगमा जडान गरिनु र क्षमताभन्दा कयौं गुणाबढीको ट्रान्सफर्मर उपलब्ध गराउनुले सरकारी निकायको बद्मासी स्पष्ट देखिन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय, लहानमा सन्नी क्रसर उद्योग सिरहा माडरका जयप्रकाश कारकको नाममा र चुलाचुली गिट्टी बालुवा प्रशोधन उद्योग हेटौंडाका सीताराम न्यौपानेका नाममा दर्ता छन् । तर, उनीहरुबाट किनेर यी दुबै उद्योग पछिल्लो ३ वर्षयता धनुषाका निरज गौतमले चलाइरहेका छन् ।
आफ्नो क्रसर अवैध रहेको र यसरी विद्युत् प्रयोग गर्न नपाइने भन्ने कुरा आफूलाई थाहा नभएको गौतमको दाबी छ । ‘मलाई यस्ता कुराहरु थाहा भएन, लामो समयदेखि गरिआएको हँ,’ गौतमले कान्तिपुरसित भने, ‘यदि गलत हो बन्द गरिदिउँला ।’
यस क्रसर उद्योगबाट चौविसै घण्टा आइरहने आवाजले आक्रान्त बनेका स्थानीय वडा कार्यालयदेखि नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसम्म पटक–पटक गुहार्दै आएका छन् । यी कार्यालयमा सबै विषय समेटेर स्थानीय हरेराम यादवले गत कात्तिक २३ मा लिखित उजुरी नै दिएका थिए ।
तर, कतैबाट सुनुवाइ नभएको र उल्टै आफूलाई मान्छे लगाएर धम्क्याउने काम गरिएको हरेरामको गुनासो छ । ‘नागरिक समस्यामा परेपछि राज्यसँग गुहार माग्ने हो, त्यसै हिसाबले मैले उजुरी दिएँ,’ कान्तिपुरसित उनले भने, ‘तर, सरकारी निकायले कुरै सुनेन, मैले उल्टै धाकधम्की झेल्नुपर्यो ।’
सर्वसाधारणले मात्र होइन, स्थानीय जनप्रतिनिधिले पनि नियामक निकायलाई पत्र नै काट्दासमेत यो अझै निर्वाध चलिरहेको छ । स्थानीयको गुनासो र उजुरीका आधारमा वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार महतोले गत कात्तिकमै जिल्ला समन्वय समिति, सिरहालाई आवश्यक कारबाहीका लागि पत्र पठाएका थिए ।
तर, अहिलेसम्म त्यस पत्रमाथि सुनुवाइ नभएको वडाध्यक्ष महतोले बताए । ‘यो क्रसरको विषयमा यहाँका सर्वसाधारणबाट मौखिक र लिखित धेरै गुनासा आए, त्यसपछि मैले सम्बन्धित निकायलाई पत्र पनि पठाएँ,’ उनले भने, ‘तर, खै किन हो, कतैबाट केही भएन ।’
कसैगरी गुहार्दासमेत नसुन्दा स्थानीयले कार्यालय अगाडि आएर धर्ना दिने चेतावनी दिएपछि नेपाल विद्युत प्राधिकरण, लहानको टोली बिहीबार क्रसरमा आएको पनि थियो । तर, टोली त्यसै फर्केर गयो । प्रमुख जिल्ला अधिकारीले अहिले विद्युत् नकाट्न भनेपछि आफूहरु फर्केर आएको कार्यालय प्रमुख अवधेश कुमार गुप्ताको दाबी छ ।
आफूहरुले केही समय क्रसरको विद्युत् पनि काटेको दाबी गुप्ताले गरेका छन् । ‘हामी बिहीबार क्रसरमा गएर केही समय विद्युत् पनि काट्यौं,’ गुप्ताले भने, ‘तर, प्रजिअबाट अहिले नकाट्नु भन्ने आदेश भयो, त्यसपछि फेरि विद्युत् जोडेर हामी कार्यालय फर्कियौं ।’
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने कसैले भनेकै भरमा विद्युत् नकाटिने भन्दै क्रसरकै बचाउमा उत्रिएका छन् । ‘कसैले भनेकै भर विद्युत काटिने होइन, पहिला हामी सबै कुरा बुझ्छौं, उनीहरुलाई बुझेर गर्न भनेको हुँ,’ पौडेलले भने, ‘सबै कुरा बुझेपछि गर्नुपर्ने कुरा सम्बन्धित निकायले गरिहाल्छ नि ।’
