बिनादर्ता सञ्चालित जनकपुरका चार औषधि पसलमा शिलबन्दी

शिलबन्दी गरिएका औषधि पसलहरूमा प्रशान्त मेडिकल हल बजरंग चोक जनकपुर, जनकपुर सुरक्षा हस्पिटल फार्मेसी बजरंग चोक, राघव सर्जिकल पसल माछा बजार र कम्युनिटी सर्भिस अस्पताल वीरेन्द्रबजार रहेका छन् ।

पुस ३, २०८२

शंकर आचार्य

Four unregistered drug stores in Janakpur sealed

पर्सा — औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।

शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु साह, निरीक्षकहरू मुकेश राउत र रवि चौधरीसमेत सम्मिलित टोलीले उक्त अनुगमन गरेको हो । त्यस क्रममा शिलबन्दी गरिएका औषधि पसलहरूमा प्रशान्त मेडिकल हल बजरंग चोक जनकपुर, जनकपुर सुरक्षा हस्पिटल फार्मेसी बजरंग चोक, राघव सर्जिकल पसल माछा बजार र कम्युनिटी सर्भिस अस्पताल वीरेन्द्रबजार रहेका छन् ।

कूल दुई दर्जन औषधि पसलको अनुगमन गरिएकामा तीमध्ये आधा दर्जन अस्पताल, फार्मेसी र डेढ दर्जन सामुदायिक फार्मेसी रहेका थिए । अनुगमनका क्रममा ११ पसलमा व्यवसायी फर्मासिस्ट अनुपस्थित रहेको, तीन पसलमा दर्ता नभएका औषधि सञ्चय गरिएको, सात पसलले लागू तथा मनोद्वीपक औषधिको बिक्री वितरण गरेको तथ्यांक नराखेको, चार पसलले उचित तापक्रममा औषधि भण्डारण नगरेको, चार पसलले औषधिजन्य आहारपूरक खाद्य पदार्थ सञ्चय गरेको पाइएको थियो ।

कार्यालयको टोली अनुगमनमा जाँदा कतिपय औषधि पसल अनुगमनको भयले बन्द गरेको पाइएको पनि साहले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully