अलपत्र अस्पताल भवन बन्यो मिर्चैया नगरपालिकाको कार्यालय

नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त बनाइएपछि मिर्चैया अस्पतालको पुरानो भवनलाई नगरपालिकाको कार्यालय बनाइएको नगर प्रमुख श्रवणकुमार यादवले बताए ।

पुस ३, २०८२

विनय आजाद

Abandoned hospital building becomes Mirchaiya Municipality office

सिरहा — सिरहाको मिर्चैया नगरपालिकाको कार्यालय मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट सञ्चालनमा आएको छ । नगरपालिकाले बिहीबारदेखि यो भवनबाट आफ्नो औपचारिक सेवा प्रवाह आरम्भ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो । त्यसयता नगरपालिकाले मिर्चैया अस्पतालबाट अस्थायी रूपमा आफ्नो सेवा प्रवाह गर्दै आएको थियो ।

नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त बनाइएपछि मिर्चैया अस्पतालको पुरानो भवनलाई नगरपालिकाको कार्यालय बनाइएको नगर प्रमुख श्रवणकुमार यादवले बताए । 'नगरपालिकाको कार्यालय जलाइएपछि हामी अन्योलमा त पर्‍यौं, तर त्यससँगै दुःखद र विषम परिस्थितिमा हामीले सम्भावना खोज्नतिर पनि लाग्यौं,' नगर प्रमुख यादवले भने, 'त्यसैक्रममा यो भवन उपयोगी हुने देखियो, नगरपालिकाको पुरानो कार्यालयभन्दा यो झन् फराकिलो छ ।'

मिर्चैया अस्पताल नयाँ भवनमा सरेपछि यो भवन अलपत्र रहँदै आएको थियो । भवन परिसरमा उम्रेको झाडी, भवनभित्रको फोहोरलगायत सफा गरी मर्मत सम्भार र रंगरोगन गरेर यहाँबाट कार्यालय सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाको नियमित कामकाजमा कुनै कठिनाइ नहुने गरी तत्काललाई एउटै कोठामा दुई वटासम्म शाखा र फाँट सञ्चालन गरिएको नगर प्रमुख यादवले बताए । यादवका अनुसार एक तलाको यस भवनमाथि ट्रस हालेर कोठा थप्दै विस्तार गर्दै लैजाने योजना छ ।

नगरपालिकाको नयाँ कार्यालय परिसरमा अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा रेमी शाखाको आयोजनामा वृक्षारोपणसमेत गरिएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully