पर्सामा विकास बजेट ५ प्रतिशत मात्र खर्च

चालु आर्थिक वर्षमा जिल्लाको कुल विकास बजेट ३ अर्ब ८७ करोड १८ लाख ९३ हजार रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म जम्मा १९ करोड ३९ लाख २४ हजार ९ सय २५ रुपैयाँ ३० पैसा मात्र खर्च हुन सकेको छ ।

पुस २, २०८२

शंकर आचार्य

Only 5 percent of development budget spent in Parsa

What you should know

पर्सा — जेन–जी आन्दोलनपछि संघीय सरकारले विकास बजेट नै रोक्का गरेपछि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पर्सा जिल्लाको कुल विकास बजेटमध्ये ५ प्रतिशत मात्र खर्च भएको छ ।

चालु आर्थिक वर्षमा जिल्लाको कुल विकास बजेट ३ अर्ब ८७ करोड १८ लाख ९३ हजार रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म जम्मा १९ करोड ३९ लाख २४ हजार ९ सय २५ रुपैयाँ ३० पैसा मात्र खर्च हुन सकेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको तथ्यांकअनुसार संघीय सरकार मातहतका विकास निर्माणसँग सम्बन्धित मुख्य दुई कार्यालय—सघन सहरी भवन निर्माण आयोजना र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पर्साले बजेट खर्च गर्न नपाउँदा जिल्लाको समग्र विकास बजेट खर्च न्यून भएको हो ।

प्रमुख कोष नियन्त्रक मनोज जोशीका अनुसार सघन सहरी भवन निर्माण आयोजना कार्यालय वीरगन्जको बजेट २ अर्ब १३ करोड ८३ लाख ४२ हजार रुपैयाँ रहे पनि मंसिर मसान्तसम्म यो कार्यालयले ५ करोड २२ लाख ५६ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।

त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पर्साको बजेट ८६ करोड ६४ लाख १० हजार रुपैयाँ रहेकोमा ४ करोड ७६ लाख २१ हजार रुपैयाँ मात्र खर्च हुन भएको छ । संघीय अर्थ मन्त्रालयबाटै बजेट रोक्का गरिएकाले मन्त्रालयबाट फुकुवा नभएसम्म यी कार्यालयले बजेट खर्च गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

जिल्लाका विकास निर्माणसँग सम्बन्धित अन्य कार्यालयहरूको बजेट तुलनात्मक रूपमा कम रहेकाले ठूलो बजेट भएका यी दुई कार्यालयले बजेट परिचालन गर्न नसकेसम्म जिल्लाको कुल पुँजीगत बजेटको ठूलो हिस्सा खर्च हुन नसक्ने अवस्था देखिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully