छोटी भन्सार सञ्चालन गर्न माग राख्दै स्थानीयले सुरु गरे अनसन

रामपुरखाप भन्सार नाका बन्द भएकाले स्थानीयले उपचार, विवाह र अन्य कामका लागि गौर हुँदै जानुपर्दा समस्या परेपछि अनसन सुरु गरेका छन्।

पुस १, २०८२

शिव पुरी

Locals begin hunger strike demanding operation of small customs office

What you should know

रौतहट — रौतहटको परोहा नगरपालिका–९ रामपुरखापस्थित छोटी भन्सार सञ्चालन गर्न माग राख्दै स्थानीयले सीमा क्षेत्रमा आमरण अनसन सुरु गरेका छन्। सशस्त्र जनयुद्धका बेला देखि यो भन्सार बन्द छ। भन्सारपारि भारतको घोडासहन सहर पर्छ।

रामपुरखाप क्षेत्रको भन्सार नाका बन्द हुँदा स्थानीयलाई वारपार गर्न असहज भएको र बिरामी वा विवाहका लागि पारि जानु पर्दा सदरमुकाम गौर हुँदै जान बाध्य हुनुपरेको भन्दै स्थानीयले संघर्ष समिति गठन गरी यही आइतबारबाट अनसन सुरु गरेका हुन्।

सुरक्षाकर्मीले बिरामी बोकेको एम्बुलेन्सलाई समेत जान रोक लगाएपछि स्थानीय आक्रोशित छन्। कांग्रेस नेतृ अन्जु झाले भन्सार नाका बन्द हुँदा स्थानीयले ठूलो समस्या झेल्नुपरेको सुनाइन्। अनसनस्थलमा बसेकी नेतृ झाले कोभिडपछि नाका केही हदसम्म सहज बनाए पनि पछि बन्द गरिएको बताइन्।

‘सीमापारि भारतसित हाम्रो रोटी–बेटीको सम्बन्ध छ। बिरामी उपचारका लागि पारि लैजाने गरिन्छ,’ उनले भनिन्, ‘एम्बुलेन्ससमेत रोक्न थालेपछि विरोध गरेका हौँ। अब समस्या समाधान नभएसम्म अनसन जारी रहन्छ।’

त्यस क्षेत्र भएर रातभर तस्करी हुने र तस्करी गर्नेलाई छुट दिने तर सर्वसाधारणलाई दुःख दिने सुरक्षाकर्मीको नियतप्रति विरोध जनाएको स्थानीयको भनाइ छ। उनीहरू दशगजा नजिक त्रिपाल राखेर तीन दिनदेखि अनसन बसेका छन्।

स्थानीयले दुई दिनअघि सशस्त्र प्रहरीको बेसक्याम्प अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए। जिल्ला प्रहरी प्रमुख, सशस्त्रका गणपति, राष्ट्रिय अनुसन्धानका उपनिर्देशकसहितको टोली सोमबार साँझ अनसनस्थल पुगेर स्थानीयलाई मनाउने प्रयास गरेको थियो। तर अनसनकारीहरू मानेनन्।

रामपुरखापस्थित सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले स्थानीयको व्यवहारिक पक्ष हेरेर सहयोग गर्दै आएको बताइन्। ‘नाका नै खुला गर्न माथिको निर्देशन चाहिन्छ,’ उनले भनिन्, ‘हाम्रो तजबिजबाट सम्भव छैन। मैले स्थानीय जनप्रतिनिधिहरूसँग सबै कुरा राखेको छु।’ तस्कर हुने आरोपको उनले खण्डन गरिन्। ‘यो सरासर गलत आरोप हो,’ उनले थपिन्।

छोटी भन्सार सञ्चालनमा आएमा नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापार विस्तार, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र आर्थिक गतिविधि सशक्त हुने स्थानीयको भनाइ छ।

अहिले गौर बाहेकका छोटी भन्सारबाट चारपाङ्ग्रे सवारी नेपाल–भारत आवतजावतमा स्थानीय प्रशासनले रोक लगाएको छ। गत वर्ष यहाँका स्थानीयले विरोध प्रदर्शन गरेपछि चारपाङ्ग्रे सवारीलाई पारि जान–आउन छुट दिएको थियो। कोभिडपछि पूर्ण रूपमा बन्द गरिएको हो।

रामपुरखापमा रहेको छोटी भन्सार जनयुद्धकै समयमा हटाइसकिएको छ। यहाँ रहेको काठको भवन भत्काइसकिएको छ। अहिले सानो झुपडी बनाएर सुरक्षाकर्मीले सीमाक्षेत्रको नाकामा जाँच गर्दै आएका छन्।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully