चितवन–पर्सा कम्प्लेक्समा पुसको दोस्रो सातादेखि बाघ गणना हुने

यसपटकको गणनामा निकुञ्जमा बाघको संख्या थपिने पूर्वानुमान भगतको छ ।

मंसिर २९, २०८२

शंकर आचार्य

Tiger census to begin in Chitwan-Parsa Complex from second week of Poush

What you should know

पर्सा — चितवन–पर्सा कम्प्लेक्समा पुसको दोस्रो सातादेखि बाघ गणना कार्य सुरु हुने भएको छ ।

पर्सा राष्ट्रिय निकुन्जका संरक्षण एवम् सूचना अधिकृत सन्तोष कुमार भगतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा गणना कार्यमा खटिने प्राविधिक/गणकहरुको पुस १ देखि चितवनमा तालिम आयोजना हुने बताए ।

तालिमपछि गणकहरु निकुञ्जको विभिन्न स्थानमा बाघ गणना गर्न क्यामेरा जडान कार्यमा खटिने छ । दुवै निकुञ्जलाई विभिन्न ब्लकमा विभाजन गरी चरणबद्ध रुपमा गणना हुने छ । 

कम्प्लेक्सको पूर्व पर्सा निकुन्ज वा पश्चिम नवलपरासी कताबाट गणना सुरु हुने भनी हाल निश्चित भइसकेको छैन । दुवै कम्प्लेक्समा गरी डेढ महिनासम्म बाघ गणनाको कार्य सञ्चालन हुने अनुमान गरिएको छ ।

प्रत्येक ४ वर्षमा यसरी बाघको उपस्थिति रहेका निकुञ्ज तथा आरक्षहरुमा बाघ गणना गर्ने गरिएको छ । बाघको संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण यो निकुञ्जमा १२ वर्षमै बाघको संख्या १० गुणाले वृद्धि भएको छ ।

सन् २००९/१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए । २०१३ मा गरिएको यस्तै सर्वेक्षणले निकुञ्जमा ७ वयस्क बाघ रहेको नतिजा देखाएको थियो । सन् २०१८ मा गरिएको गणनामा निकुञ्जमा १८ बयस्क बाघ फेला परेका थिए । २०२२ को गणनामा पर्सा निकुञ्जमा ४१ वयस्क बाघ रहेको पाइएको थियो ।

यसपटकको गणनामा निकुञ्जमा बाघको संख्या थपिने पूर्वानुमान भगतको छ । ‘निकुञ्जमा बाघको संख्या थपिकएकै अनुमान छ,’ उनले भने, ‘तर निकुञ्जको विभिन्न क्षेत्रमा बाघको उपस्थिति देखिएकाले पक्कै पनि बाघको संख्या बढेकै छ ।’

पछिल्लो समय निकुञ्जसँग जोडिएको बारा र रौतहटका सामुदायिक वनहरुमा पनि बाघको उपस्थिति देखिएको छ । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमी क्षेत्रफलमा निकुञ्ज फैलिएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully