वीरगन्ज भन्सारका एजेन्टले काम बन्द गरे

राजश्व असूली शून्य, वीरगन्ज उद्योग वाणिज्य संघले जनायो ऐक्यबद्धता

मंसिर २४, २०८२

शंकर आचार्य

Birgunj customs agents stop work

What you should know

पर्सा — भन्सार एजेन्टले कलम बन्द गरी काम ठप्प पार्दा मुलुककै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज मंगलबार ठप्प रह्यो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह बिष्टले कार्यालयमा मंगलबार एउटा जाचपासको काम नभएको नभएको बताए । 

‘भन्सार एजेन्टले जाँचपासको कुनै पनि कामनै नगर्ने भएपछि हामीले आज कार्यालयको एउटा पनि कम्प्युटर अन नै गरेनौं,’ उनले भने, ‘हाम्रो संपूर्ण काम भन्सार एजेन्ट र तिनका प्रतिनिधिमार्फत नै हुने भएकाले यसो भएको हो ।’

भन्सार एजेन्टले नै काम नगरेपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असूली पनि मंगलबार राजश्व असूली शून्य नै रहेको विष्टले बताए । सामान्य दिनमा यो भन्सारले दैनिक सरदर ६० देखि ६३ करोड रुपैयाँ राजश्व संकलन गर्ने गरेकोमा मंगलबार राजश्व असूली पनि शून्य भएको उनले बताए ।

वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले आइतबार र सोमबार आफूहरुले आंशिक रुपमा काम नगरेकोमा मंगलबार भने केन्द्रीय भन्सार एजेन्ट महासंघकै आह्वानमा भन्सार कार्यालयको कामकामज पूर्ण रुपले ठप्प पारिएको बताए । 

संघीय सरकारले मंसिर २० गते ल्याएको भन्सार ऐन २०८२ को दफा ७१(६) मा विद्युतीय माध्यमबाट भन्सार एजेन्टले कुनै पनि कागजात अपलोड गर्दा त्रुटी हुन गए राजश्वको १० प्रतिशत जरिवाना त्यसरी त्रुटी गर्ने भन्सार एजेन्टलाई लाग्ने व्यवस्था अव्याहारिक भएको भन्दै भन्सार एजेन्ट आन्दोलित भएका हुन् । तामाङले यो कडा जरिवानाको व्यवस्था अव्यावहारिक भएकाले यसलाई संशोधन नगरिए सम्म आफूहरु आन्दोलित रहने बताए ।

उनले वीरगन्ज भन्सार मात्रै १ सय ८० भन्सार एजेन्ट र तीनका ९ सय ११ प्रतिनिधि रहेको बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा ऐक्यबद्धता

यता वीरगन्ज उद्योग वाणिज्य संघले भन्सार एजेन्टको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै भंसार कार्यालयमा कार्यरत भंसार एजेन्टहरुले मंगलबारदेखि कलम बन्द गरी भन्सार जाँचपास नगराएको समस्याप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा, नयाँ भंसार ऐनका कतिपय दफाहरु भन्सार एजेन्टहरुको हकहित र पेशाप्रति असहज परिस्थिति सृजना गर्ने खालको भएको र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पर्न गएको उल्लेख छ । 

‘उनीहरुले भंसार ऐन २०८२ बाट सृजित समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई पहल गर्न र सो समस्या समाधान नभएसम्मको लागि कलम बन्द गर्ने भनेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘भंसार एजेन्ट महासंघले उठाएको मागहरु न्यायोचित छन्, सरकार उदार अर्थनीतिको विरोधमा अनुदार भन्सार नीति ल्याएर अघि बढ्न मिल्दैन ।’

दण्ड जरिवाना मात्र थोपारेर व्यापार व्यवसाय बढ्ने होइन भन्ने संघको धारणा रहेकाले भन्सार एजेन्ट महासंघले उठाएका मागहरु तत्काल पूरा गरी भन्सार सुधार गर्न विज्ञप्तिमार्फत् संघले माग गरेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully