कमला पुल निर्माणका लागि महाअभियान : चन्दा संकलन गरी सरकारलाई बुझाइने

संकलन हुने सबै रकम सरकारलाई बुझाउने र पुल निर्माणका जनदबाब सिर्जना गर्ने योजना छ ।

मंसिर २१, २०८२

विनय आजाद

सिरहा — मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गतको कमला नदीको पुल निर्माणका लागि महाअभियानको थालनी भएको छ ।

सिरहाका नागरिक अगुवाहरूले कमला पुल निर्माणका लागि महाअभियान थालेका हुन् । कमला पुल छेउमै शनिबार एक कार्यक्रम गरी थालनी भएको यो महाअभियानमार्फत सिरहा, सप्तरी र धनुषाका नागरिकसँग कम्तीमा एक सय रुपैयाँ संकलन गरिनेछ । अभियानका अगुवा रामरिझन यादवका अनुसार, स्वेच्छिक रूपमा बढी पनि चन्दा दिन सकिनेछ ।

यसका अलावा पैसा जुटाउन महायज्ञको आयोजना पनि गरिने यादवले जनाए । यसरी संकलन हुने सबै रुपैयाँ सरकारलाई बुझाउने र कमला पुल निर्माणका जनदबाब सिर्जना गर्ने उनले जानकारी दिए । 

अभियानको घोषणा कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए । स्थानीय तहका जनप्रतिनिधिहरूले कानुनले मिल्ने भए बजेट नै विनियोजन गरेर सहयोग गर्ने बताए भने संघसंस्थाका प्रतिनिधिले पनि सहयोग गर्ने बाचा गरे । 

कार्यक्रममा वक्ताहरूले राजनीतिक दलहरूले कमला पुललाई भोट तान्ने बहाना  ठानेको र यसैकारण पुल बनाउन कसैले चासो नदिएको भन्दै आक्रोशसमेत पोखेका थिए ।

यो पुल निर्माणका लागि २०६८ जेठमै २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता बमोजिम २०७१ मंसिरमै पुल निर्माण भइसक्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले पटकपटक म्याद थपिँदा पनि काम हुन सकेन ।

स्थानीयको आन्दोलनपछि १० वर्षमा निर्माणको अन्तिम चरणमा परेको यो पुल २०७८ असार १७ मा कमला नदीमा आएको बाढी थेक्न नसकी भासियो । त्यसयता ठेकेदारले पुनर्निर्माण गर्ने भने पनि कहिले पुल बन्ने भन्ने कुरा अन्योल छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully