वीरगन्जमा छपकैया तरकारी तथा फलफूल थोक बजार संचालनमा

समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार संचालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए ।

मंसिर २१, २०८२

शंकर आचार्य

Chhapakaiya Vegetable and Fruit Wholesale Market in Birgunj is operational

What you should know

पर्सा — वीरगन्ज महानगरपालिकाले वडा नं २ रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको छपकैया तरकारी तथा फलफूल थोक बजार आइतबारदेखि संचालनमा ल्याएको छ । 

बजार संचालन आएसँगै वीरगन्जमा व्यवस्थित थोक तरकारी बजारको अभाव पूरा भएको छ । बजार शुभारम्भ कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार निर्माण छपकैयावासीकै पहिचान र नाममा जोडिएको बताए । उनले स्थानीय समुदायको भूमिका बजार संचालनको मुख्य आधार हुने भन्दै यो बजार छपकैयावासीकै नाममा बनाइएको बताए । उनले भने, 'यो बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीयकै भूमिका महत्वपूर्ण हुनेछ ।'

मेयर सिंहले बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भए पनि बीपी उद्यानमा रहेका व्यवसायीको कारण ढिलाइ भएको बताए । अब बीपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँ रहेको अव्यवस्थित बजारलाई हटाइने र त्यहाँका थोक तरकारी व्यापारीलाई छपकैया बजारमै स्थानान्तरण गर्न विकल्प दिइएको पनि मेयर सिंहले बताए ।

समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार संचालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए । उनले अव्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेकोमा अब किसानले सहज रूपमा उत्पादन ल्याउन, उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न र सवारी सञ्चालन पनि सरल हुने बताए ।

Chhapakaiya Vegetable and Fruit Wholesale Market in Birgunj is operational

पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोक बजारमा १४ युनिटमा २८ सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजनासमेत रहेको छ ।

खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ । बजार निर्माण गरिएको जग्गा करिब तीन दशकदेखि विवादमा रहे पनि कानुनी प्रक्रियाबाट सार्वजनिक कायम भएको महानगरको दाबी छ । विभिन्न स्थानीय व्यक्तिले स्वामित्व दाबी गरे पनि २०४६ सालको नयाँ नापीमा उक्त जग्गा ‘महल खाली’ रहेको र कुनै स्वामित्व नदेखिएको महानगर कार्यालयको दाबी छ ।  

विभिन्न व्यक्तिले कागजात तयार गरी कब्जा प्रयास गरेपछि २०८० असोज २६ गते महानगर बोर्ड बैठकले जग्गा सार्वजनिक कायम गर्न निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो । मालपोत कार्यालयले १६ असोज २०८१ मा दाबीहरू खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully