शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।
What you should know
रौतहट — चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र बिपरित दिसाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
घटनापछि मृतकका परिवार र बस संचालक बीच क्षतिपूर्तीको विषयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । बसधनीको तर्फबाट कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखे पछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन् ।
बृन्दावन नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए । ‘कानुनमा जे छ त्यो छँदैछ । केही रकम थपेर पीडितको चित्त बुझाउन पाए हुन्थ्यो,’ उनले भने,‘छलफलबाट हामी समाधान खोज्छौं ।’
मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय छोरा युवराजको निधारमा चोट लागेको छ । ११ वर्षकी छोरी आकृति पटेलको खुट्टा र टाउकोमा चोट लागेको छ । पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
चन्द्रपुर–८ घरभएका बसका चालक अमृतबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले पीडित पक्षसित वार्ता गरेर बाटो खुलाउने प्रयास भइरहेको बताए । राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी अलपत्र परेका छन् । मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन् ।
