नहरमा हिउँदमा पानी नआउने भएपछि पर्सा,बारा र रौतहटका गरी करिब २८ हजार हेक्टर नहरको सिञ्चित क्षेत्रमा गहुँ मात्र नभई तोरी, दाल, आलु र उखु बाली पनि सिँचाइबाट वञ्चित हुने छन् ।
What you should know
काठमाडौँ — भारतले गहुँ पट्याउन गण्डक नहरमा पानी दिन नसक्ने भन्दै पत्राचार गरेको छ । भारतले यस वर्ष गण्डक नहरमा गहुँ बालीलाई सिजनमा पानी दिन असथर्मथता जनाउँदै नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जलाई औपचारिक पत्राचार गरेको हो ।
भारत बिहार पश्चिम चम्पारन रामनगरस्थित नहर शाखाले मंगलबार कार्यालय प्रमुख मनोज पटेललाई पत्राचार गरेको कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेशप्रसाद साहले बताए । ‘यसअघि भारतीय पक्षबाट नहरमा पानी नदिने सम्बन्धमा औपचारिक पत्र आएको थिएन,’ उनले भने, ‘हाल भने औपचारिक पत्र नै आएपछि अब गहुँ बाली सिजनमा यस वर्ष नहरमा पानी नआउने पक्का भएको छ ।’
भारतीय पक्षले यस वर्ष नहरमा सरसफाइ र मर्मत सम्भारको काम गर्ने र यसका लागि ठेक्का सम्झौता पनि भइसकेको बताउँदै यस वर्ष हिउँदमा नहरमा पानी दिन असमर्थता जनाएको साहले बताए । नहरमा हिउँदमा पानी नआउने भएपछि पर्सा,बारा र रौतहटका गरी करिब २८ हजार हेक्टर नहरको सिञ्चित क्षेत्रमा गहुँ मात्र नभई तोरी, दाल, आलु र उखु बाली पनि सिँचाइबाट वञ्चित हुने छन् ।
नवलपरासीको त्रिवेणी भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९३ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ । पर्सा,बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ भने ८१ किलोमिटर रहेको छ । नेपालमा रौतहटको बागमती नदीमा मिसिएर यो नहर समाप्त हुन्छ ।
गण्डक सम्झौताबमोजिम भारतीय पक्षले गहुँ बालीका लागि नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्छ । सम्झौताअनुसारको पानी नआउने र भारतीय भूमिमै नहरमा नियमित मर्मत सम्भार अभावमा नहरको अन्तिम विन्दु अर्थात रौतहटको पूर्वी भेगसम्म नहरमा पानी पुग्दैन ।
नहरअन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित क्षेत्र रहेकोमा पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी रौतहटमा रहेको छ । पर्सा र बारामा लक्षित रूपमा सिँचाइ भए पनि रौतहटमा भने नहरको पानी अपर्याप्त हुँदा लक्षित सिँचाइ हुन सक्दैन । भारतसँगको गण्डक सम्झौताअनुसार बर्सेनि धान बाली सिजनमा लागि असार १५ र गहुँ बालीका लागि पुस १५ मा भारतीय पक्षले नहरमा पानी दिनुपर्छ ।
