बाघ आक्रमणको डरले प्राविधिक टोली फर्कियो

२०/२५ जनाको टोली एकैसाथ त्यहाँ पुग्दा ठूलो स्वरमा बाघ कराएपछि बाघको आक्रमणमा परिने डरले टोली फर्केको हो ।

मंसिर १८, २०८२

शंकर आचार्य

Technical team returns due to fear of tiger attack

What you should know

पर्सा — पर्सागढी नगरपालिकामा सबैया साझेदारी वन क्षेत्रमा रहेको बाघको निगरानी गर्न क्यामेरा जडान गर्न गएको टोली बुधबार बाघको आक्रमणको डरले क्यामेरा जडान नै नगरी फर्किएको छ । डिभिजन वन कार्यालय पर्साको आग्रहमा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन कार्यालयबाट यहाँ आइपुगेको क्यामेरासहितको टोली वन कर्मचारी र स्थानीयसहित बाघ देखिएको क्षेत्रम क्यामेरा जडान गर्न जाँदा बाघ ठूलो आवाजसहित कराएपछि टोली क्यामेरा जडान नगरी फर्केको हो ।

डिभिजन वन कार्यालय प्रमुख मन्जुर अहमदले २०/२५ जनाको टोली एकैसाथ त्यहाँ पुग्दा ठूलो स्वरमा बाघ कराएपछि बाघको आक्रमणमा परिने डरले टोली फर्केको बताए । ‘यसरी बाघको उपस्थितिकै बीच क्यामेरा जडान गर्न जाँदा ज्यानकै जोखिम हुन सक्ने देखेर टोली फर्केको हो,’ अहमदले भने, ‘अब कोषको सोही टोली बाघलाई घाइते गर्ने डार्टसहितको उपकरण लिएर आउनेछ ।’

डार्ट प्रयोजनका लागि हात्ती पनि चाहिने भएकाले आफूले विभागका महानिर्देशकलाई पनि जानकारी गराई हात्ती उपलब्ध गराउन माग गरिसकेको उनले बताए । प्रभावित क्षेत्रमा मंगलबारदेखि माइकिङ गरेर स्थानीयलाई आवागमनमा रोक लगाइएको उनले बताए ।

स्थानीयले करिब एक महिनादेखि त्यस क्षेत्रमा दुई वटा बाघ देखेको सूचना दिएका छन् । कतिपयले एउटा माउ बाघ आफ्नो डमरुसहित रहेको बताएका छन् । दुई बयस्क बाघ एकसाथ बस्न नसक्ने भएकाले ती दुई बाघ माउ र डमरु हुन सक्ने सम्भावना छ । अहमदले भने वन क्षेत्रमा आहाराको कमी भएपछि घाइते तथा बुढा बाघहरु वन क्षेत्रबाट बाहिर मानव बस्ती आसपास आउने गरेको बताए ।

सोमबार बिहान उक्त बाघको आक्रमणमा परी पर्सागढी–३ झुलिटारकी ५५ वर्षीया शान्तामाया श्रेष्ठ घाइते भएकी थिइन् । जंगलमा घाँस काट्न गएकी श्रेष्ठलाई बाघले आक्रमण गरी गम्भीर  घाइते बनाएको थियो । सबैया साझेदारी वनको चिसापानी जङ्गल क्षेत्रमा श्रेष्ठ छिमेकी महिलाहरूसँग घाँस काट्न गएको बेला उनीमाथि बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट श्रेष्ठको गाला, मुख, घाँटी र आँखामा घाउ लागेको छ । बाघको आक्रमणमा परिने डरले स्थानीयवासी पनि त्रसित छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully