बलात्कारको जाहेरी लिएर प्रहरी कार्यालय धाइरहेका बाबु

१४ वर्षीया छोरी बलात्कार भएको जाहेरी लिएर बाबु प्रहरी कार्यालय धाउन थालेको पाँच दिन भइसक्दा पनि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको छैन ।

मंसिर १६, २०८२

विद्यानन्द राम

Father rushing to police office to file rape complaint

What you should know

काठमाडौँ — १४ वर्षीया बालिकाको बलात्कार मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ। देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सप्तरीका एक बाबु भने १४ वर्षीया छोरीमाथि भएको बलात्कार घटनामा न्याय खोज्न प्रहरी कार्यालय धाइरहेका छन्।

बिर्तामोडमा मजदुरी गर्दै बस्दै आएका २१ वर्षीय युवकले विवाह गर्ने प्रलोभनमा बोलाएर बलात्कार गरेको छोरीले बताएपछि बाबु गत बुधबार जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

पीडितका बाबु प्रहरी कार्यालय धाएको पाँच दिन बितिसक्दा पनि घटनामा प्रहरीले जाहेरी दर्ता गरेको छैन। निरक्षर र सामान्य कृषिकर्म गर्ने बाबु सुरुमा प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पुगेका थिए। त्यहाँ प्रहरीले कुटपिट सम्बन्धी ठाडो उजुरी दिन लगाई दर्ता नम्बर ४२३ को पर्ची र आरोपी झिकाउनका लागि प्रहरी चौकी रम्पुरा मल्हनियाँलाई लेखिएको पत्र दिएर पठाएको थियो। 

प्रहरीले दिएको पत्र बोकेर गाउँ पुगेका बाबु शनिबार प्रहरी चौकी रम्पुरा मल्हनियाँ पुगे। त्यहाँका प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय जान भने। त्यसपछि मात्रै उनले फरक उजुरी दर्ता भएको बुझ्न सके। आइतबार उनी छोरीसहित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए। तर प्रहरीले उनकाे जाहेरी दर्ता गरेन। प्रहरीले छोरीको जन्मदर्ता लिएर भोलिपल्ट आउन भनेको र सोमबार फेरि जाँदा पनि जाहेरी दर्ता नभएको उनले बताए।

‘गाउँलेले पञ्चायतीबाट घटना मिलाउन दबाब दिइरहेका छन्,’ बालिकाका बुवाले भने, ‘प्रहरीले जहिले भोलि आउनु भन्छ। अब के गर्ने? जाहेरी लेखाउन तिरेको २५ सय रुपैयाँ पनि ऋण लागिसक्यो। आउजाउ गर्न भाडा पुग्दैन।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले सोमबारै बलत्कार सम्बन्धी जाहेरी आफूसमक्ष आएको बताए। ‘सुरुमा अर्कै उजुरी दिनुभएको थियो। आज मात्रै जबरजस्ती करणी सम्बन्धी जाहेरी आएको रहेछ,’ उनले भने, ‘कानूनअनुसार कारबाही हुन्छ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully