नेपाल-भारत सीमा सुरक्षा बैठक : दसगजा क्षेत्रको अतिक्रमण हटाउन संयुक्त प्रयास गरिने

आइतबार भएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठकमा दसगजा क्षेत्रमा देखिएका समस्या आपसमा समन्वय गरेर समाधानको पहल गर्ने समझदारी बनेको हो।

मंसिर १५, २०८२

लक्ष्मी साह

Nepal-India border security meeting: Joint efforts to remove encroachment in Das Gaja area

What you should know

बारा — नेपाल–भारत सीमामा चुनौतीको रूपमा रहेको दस गजा अतिक्रमण समस्या हटाउन दुवै देशका सशस्त्र सीमा सुरक्षा बलले अभियान सुरु गर्ने भएका छन् ।

कलैयास्थित सशस्त्र सीमा सुरक्षा बल १२ नम्बर गणमा आइतबार भएको दुवै देशका स्थानीय र ‘बटालियन’ स्तरका बैठकमा यस्तो समस्या औँल्याउँदै समन्वय गरेर अभियान सुरु गर्ने सहमति भएको हो ।

दुवै देशका स्थानीय बासिन्दाहरूले गैरकानुनी रूपमा आ–आफ्नो स्वामित्व दाबी गर्दै दस गजालाई प्रयोग गरी घर टहरा बनाउने, खेतीपाती गर्ने लगायतका समस्या रहेको छ । बैठकमा सशस्त्र प्रहरी बल बारा, पर्सा, रौतहटका प्रमुखहरू र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१, ४४ र ४७ बटालियनका प्रमुखहरूको उपस्थिति थियो ।

‘दस गजा क्षेत्रमा जग्गा अतिक्रमणको समस्या पहिला देखिनै छ । बिहारमा विधान सभाको चुनावले निरन्तरता हटेको थियो । फेरि अब दुवै देशका समकक्षी मिलेर हटाउँछौँ,’ सशस्त्र सीमा सुरक्षा बल १२ नम्बर गण बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले भने, ‘यसबाहेक सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, सीमा स्तम्भको मर्मत/रंगरोगन, अपराध नियन्त्रण, तेस्रो देशका नागरिकहरूबाट हुन सक्ने अवैध आवतजावत, चोरी–तस्करी नियन्त्रण, लागू औषध र मानव ओसारपसार नियन्त्रण गर्न छलफल भएको हो ।’

यी सबै कामका लागि संयुक्त गस्ती गर्ने जस्ता विषयहरूमा छलफल भई दुवै देशका स्थानीयदेखि ‘बटालियन स्तर’ का कमाण्डरहरूबीच सूचना आदानप्रदान गर्ने विषयमा छलफल भएको उनले बताए ।

सीमा वारी र पारिका स्थानीयहरूले स्वामित्व दाबी गर्दै गैरकानुनी रूपमा दसगजा क्षेत्रमा जग्गा हडप्ने प्रवृत्तिलाई हटाउन दुवै देशका नागरिकमा सचेतना बढाउने र त्यसका लागि स्थानीय पालिकाहरूलाई पत्राचार गरी चाँडै सार्वजनिक सूचना जारी गर्ने उनको भनाइ छ ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully