घटनापछि फकिरा गाउँ अहिले शोकमग्न बनेको छ । नातिको मृत्यु भएको खबरले अवाक भएकी मुकेशकी हजुरआमा ७० वर्षकी सुखोदेवीको अवस्था अझै विक्षिप्त छ । उनी घरको बाटो भएर हिँडिरहने जो कोहीलाई हेर्दा मुकेश भन्दै रुन र कराउन थाल्छिन् ।
What you should know
राजविराज — मोबाइल चोरीको आरोपमा १९ वर्षका मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएपछि उनको घर सुनसान बनेको छ । मृतक मुकेश, बुवा देवेन्द्र, भाइ १३ वर्षका मिथिलेश र काका भूपेन्द्रका छोरा १४ वर्षका रामप्रवेशसँग राजविराज नगरपालिका–१६ बोरियामा बस्दै आएका थिए । घटनापछि पुर्ख्यौली घर जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा पुगेका उनीहरू डरले बोरिया फर्किने आँट गर्न सकेका छैनन् ।
मोबाइल चोरेको भन्दै बुधबार सडकमा घुमिरहेका मुकेशलाई सोही ठाउँकी ३५ वर्षकी सरोकुमारी साहले पक्रेर लगेकी थिइन् । त्यसबेला घरमा न मुकेशका बुवा थिए, न त उनका भाइहरू नै । सरोकुमारीले छिमेकीहरूलाई लगाएर मुकेशलाई आँपको रुखमा बाँधेर निर्घात कुटपिट गराएकी थिइन् ।
कुटपिटपछि मुकेशले चोरेको मोबाइल आफ्नो मामाघर लगेको हुन सक्ने आशंका गरी उनीहरूले ई–रिक्सामा बाँधेरै उनलाई जिल्लाको विष्णुपुर गाउँपालिका–४ कञ्कट्टा पनि लगेका थिए । त्यहाँ मुकेशका मावलीपट्टिका हजुरबुवा वासुदेव यादव मात्रै घरमा थिए । त्यहाँ पनि मोबाइल नभेटिँदा उनीहरू अझ आक्रोशित बन्न पुगेका थिए । मुकेशलाई छाडिदिन उनका हजुरबुवाले पटक–पटक आग्रह गर्दा पनि उनीहरूले मानेनन् । त्यही ई–रिक्सामा बाँधेर कुटपिट गर्दै फेरि बोरिया फर्किंदा मुकेश अचेत भइसकेका थिए । त्यसपछि मात्रै आफूलाई जिम्मा लगाएको मुकेशका बुवा देवेन्द्रले पीडा सुनाए । ‘छोराले मोबाइल चोरेकै छैन, चोरेको भए पनि म तिर्थें तर हाम्रो कुरा केही नसुनी उनीहरूले बाँधेर लट्ठी र फलामको रडले निर्घात कुटपिट गरेर छोराको हत्या गरिदिए,’ उनले भने, ‘टाउको, ढाड र शरीरका विभिन्न भागमा चोटैचोट थियो ।’
किरिया बसेका १० वर्षका शिवकुमार यादव ।
तर, फेरि पनि कुट्न सक्ने डरले मुकेशलाई त्यो दिन घरबाहिर निकाल्नै नसक्दा अस्पताल पुर्याइएन । भोलिपल्ट मुकेश ज्वरोले पनि ग्रस्त भए । शुक्रबार बिहान मात्रै उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका थिए । तर, त्यहाँ उनको उपचार हुन सकेन । दिउँसो रेफर गरी छिन्नमस्ता अस्पताल लगिएको थियो । सघन कक्ष (आईसीयू) मा उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटनापछि फकिरा गाउँ अहिले शोकमग्न बनेको छ । नातिको मृत्यु भएको खबरले अवाक भएकी मुकेशकी हजुरआमा ७० वर्षकी सुखोदेवीको अवस्था अझै विक्षिप्त छ । उनी घरको बाटो भएर हिँडिरहने जो कोहीलाई हेर्दा मुकेश भन्दै रुन र कराउन थाल्छिन् । उनलाई सम्हालिरहेकी मुकेशकी काकी पुनितादेवीको अवस्था पनि नाजुक छ । गहभरि आँसु बोकेकी उनले घर आउनेसँग न्यायका लागि गुहार मागिरहेकी छन् । पुनिताकै १० वर्षका छोरा शिवकुमार किरियामा बसेका छन् । शिवकुमार पनि जन्मिएदेखि बोल्न सक्दैनन् ।
श्रीमती गीतादेवीको मानसिक समस्याले तनावमा रहँदै आएका मुकेशका बुवा देवेन्द्रलाई छोरा गुमाएको पीडा खपिनसक्नु छ । उनी आफैं पनि बायाँ खुट्टा नचल्दा लौरो टेकेर हिँडिरहेका छन् । मुकेश पनि मानसिक रूपमा कमजोर रहँदा देवेन्द्रले उनलाई आफैंसँग राखेर देखरेख गर्दै आएका थिए । ‘कुटपिट गर्ने पनि छिमेकी नै हुन् तर उनीहरूलाई थोरै पनि माया लागेन,’ देवेन्द्रले भने । कुटपिट गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने उनको माग छ ।
घटनापछि विष्णुपुर गाउँपालिका–४ घर भइ राजविराज नगरपालिका–१६ बोरियाकी सरोकुमारी, बोरियाकै १८ वर्षका रवीन्द्र ठाकुर र २५ वर्षका सन्तोषकुमार राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
