लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाटै प्रहरीले गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
सिरहा — सिरहाबाट एक हजार किलोभन्दा बढी प्रतिबन्धित गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन् । लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाटै प्रहरीले गाँजासहित ट्रक र मानिसलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, शनिबार राति करिब साढे ९ बजेतिर ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकलाई सूचनाका आधारमा जाँच गर्दा गाँजा बरामद भएको थियो । ट्रकबाट कुल एक हजार १५ किलो ३ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, गाँजा र ट्रकसहित चालक संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।
सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई यस विषयमा विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
