जेन–जी र एमाले कार्यकर्ताबीच सुरु भएको विवादले बाराको सिमरा दुई दिन अशान्त बनेको थियो ।
बारा — प्रहरी प्रधान कार्यालयले बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई शुक्रबार हेडक्वार्टर तानेको छ ।
उनको ठाउँमा प्रधान कार्यालयले मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलाई पठाउने निर्णय गरेको छ ।
‘संगठनको आवश्यकताअनुसार तानिएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले भने, ‘तानिनु भनेको सरुवा गरेजस्तै हो । उहाँको ठाउँमा अर्को एसपी पठाइएको छ ।’
एसपी तामाङले करिब १० महिना जिल्लाको कार्यभार सम्हाले । उनी शनिबार पनि जिल्लामै छन् ।
बाराको सिमरामा गत बुधबार जेन–जी र एमाले कार्यकर्तासहित प्रहरीबीच झडप भएको थियो । प्रदर्शन, आगजनी, कर्फ्यु, विमानस्थल बन्द, तोडफोडलगायतले सिमरा दुई दिन अशान्त बनेको थियो । शुक्रबार सुधन गुरुङको टिमसहित जिल्ला सुरक्षा समितिसँगको वार्तामा एसपी तामाङकै सुरक्षा व्यवस्थापनमा कमजोरी भएकाले घटना भएको माग उठ्दै उनको चर्को आलोचना भएको थियो ।
जेन-जीहरू प्रहरीकै अगाडि कुटिएका र त्यहाँ बाक्लो उपस्थिति रहेको प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गुरुङले तामाङलाई लाचार भएको आरोप लगाएका थिए ।
