रौतहटमा बसको ठक्करबाट बालकको मृत्यु

गरुडा–सुकदेव चोक खण्डको जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमीको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसको ठक्करबाट स्थानीय रञ्जन साहका २ वर्षीय छोरा आदित्यकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

मंसिर ५, २०८२

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घटनापछि बस चालक फरार छन् ।  

गरुडा–सुकदेव चोक खण्डको जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमीको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसको ठक्करबाट स्थानीय रञ्जन साहका २ वर्षीय छोरा आदित्यकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनालगत्तै प्रहरी पुगेर बसलाई इलाका प्रहरी कार्यालय गरुडामा ल्याएको छ । फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन श्रेष्ठले बताए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully