राजमार्गमा वन्यजन्तुको त्रास

वनबाट राजमार्गमा निस्किएको जंगली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रक चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई जंगलभित्रै हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो ।

कार्तिक ३०, २०८२

शिव पुरी

Wildlife threat on highways

What you should know

रौतहट — पूर्वपश्चिम राजमार्गस्थित बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा कात्तिक २४ गते जंगली हात्तीको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर घर भएका ट्रक चालक ४० वर्षीय राजकुमार चौधरीको ज्यान गयो ।

हात्ती जंगल पस्ने र राजमार्गमा निस्कने गरेकाले राजमार्गको यात्रा डरमर्दो भयो । बाराको घट्नाभन्दा ठीक एक महिनाअघि चन्द्रनिगाहपुर धन्सार खण्डमा यमगज नामको हात्ती बाटो तेर्सिएपछि घण्टौंसम्म राजमार्ग अवरुद्ध भयो ।

वन्यजन्तुकै कारण पछिल्लो समय राजमार्गको यात्रा असुरक्षित बन्दै गएको छ । केही समय यता राजमार्गमा निकुञ्जबाट आएका हात्तीले उपद्रो मच्चाउन थालेको छ । रौतहटको जंगलमा अहिले पनि यमगज कहिले राजमार्गमा त कहिले बस्ती पस्ने गर्छ ।  

वनबाट राजमार्गमा निस्किएको जंगली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रक चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई जंगलभित्रै हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले हात्तीकै कारण राजमार्गको यात्रा केही जोखीम भएको सुनाए । ‘केही समय राजमार्गमा हात्ती देखिएको छैन । निकुञ्जको टोलीले हात्तीलाई डार्ट गरेको छ,’ उनले भने, ‘यद्यपि वनको टीम अलर्ट अवस्था मै छ ।’

शनिबार फेरि कोल्बी भन्ने स्थानमा उक्त हात्ती देखा परेको भन्ने बुझिएको छ । अहिले राजमार्गस्थित जंगल क्षेत्रको बाटोमा जथाभावी सवारी नरोक्न बारा ट्राफिकले अनुरोध गरेको छ ।

Wildlife threat on highways

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका डिएसपी वकिल सिंहले जंगली हात्तीका कारण राजमार्गमा यातायात प्रभावित भइरहेको बताए ।

यता लामो समयदेखि रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गतको जंगलमा बस्दै आएको जंगली हात्ती ‘यमगज’ जंगल, बस्ती र कहिले गाउ पसेर उर्दुङ मच्चाउन थालेको छ । राजमार्गमा घण्टौंसम्म बसेर यमगजले सवारी आवागमन नै प्रभावित पार्न थालेको सुरक्षाकर्मीहरु बताउँछन् ।

यमगजको आक्रमणमा परि एक वर्षअघि बाख्रा चराउन गएकी अमलेखगञ्जकी एक महिलाको मृत्यु भएको थियो । चालक चौधरीलाई आक्रमण गरेपछि बाराको जंगलमा आतकं मच्चाउँदै आएको हात्तीलाई नियन्त्रणमा लिन चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली फिल्डमा खटिएको थियो ।

डा. अमिर सडौलासहितको प्राविधिक टोली पाँच दिनदेखि हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुनसकेको छैन । निकुञ्जबाट आएको हात्तीले बारा, रौतहट, सर्लाहीका किशानको धानबाली खाने, घर भत्काउने र मानिसलाई आक्रमण गर्दै आएको छ । 

समूहबाट छुट्टिएर स्वतन्त्र ढंगले एक्लै हिँड्ने हात्ती आक्रामक हुने निकुञ्जको टोलीले बताएका छन् । पर्सा निकुञ्ज अन्तर्गतको पथलैया–अमलेखगञ्ज खण्डमा बाघले पटक–पटक मानिसमाथि आक्रमण गर्दै आएको छ । त्यस सडक खण्डमा ५०औं वर्षदेखि हात्ती आउजाउ गर्दै आएको निकुञ्जका कर्मचारीहरु बताउँछन् । 

मानव निर्मित संरचना, खेती, तारबार, बस्तीले जंगली हात्तीको परम्परागत बाटो मासिएको डिभिजन वन रौतहटका प्रमुख हेमन्तकुमार साहले बताए । यही कारण मानिससँग उनीहरुको द्वन्द्व बढेको प्रमुख साहको भनाइ छ । 

राजमार्गमा हात्तीको मात्र होइन, साना वन्यजन्तुलेसमेत यात्रुलाई जोखिममा पार्ने गरेको पाइएको छ । बँदेल, हरिण जस्ता वन्यजन्तुले बाटो काट्दा साना सवारी दुर्घटना हुने गरेको छ । 

प्रहरीले अहिलेसम्म कति साना सवारी राजमार्गमा वन्यजन्तुसँग ठोक्किएर दुर्घटना भयो भन्ने छुट्टै तथ्यांक राख्ने गरेको छैन । २०७७ पुस २० पुस गते पूर्व–पश्चिम राजमार्ग स्थित बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा कार सित ठोक्किएर १० वर्षको पोथी बाघ मर्‍यो ।

त्यसको एक वर्षअघि सर्लाही–बर्दिवास खण्डमा बँदेलसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चन्द्रपुर–५ का रोशन कार्कीको मृत्यु भयो । तराईका राष्ट्रिय निकुञ्जको घना जंगल चिरेका राजमार्गमा पछिल्ला वर्षमा यस्ता घटना बढेको पाइएको छ । संरक्षित वन्यजन्तु र मान्छेबीच राजमार्गमा हुने जम्काभेटको घटनाले दुवैको असुरक्षा बढेको वनकर्मचारीहरु बताउँछन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully