सडक नपुग्दा निराश बनेका सदा परिवारको दुखेसो– घर पुग्नै भारतीय सुरक्षाकर्मीसँग चेकजाँच गराउनुपर्छ ।
What you should know
राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखी टोलमा चार पुस्तादेखि ६० अति विपन्न सदा (मुसहर) परिवारको बसोबास छ । तर, टोलवासीले कहिल्यै पनि सरकारको अनुभूति गर्न पाएका छैनन् । दशगजासँग जोडिएको त्यस टोलमा निजी शौचालय छैन भने शुद्ध खानेपानीको पनि उत्तिकै अभाव छ ।
टोलमा रहेका ७ वटा चापाकलबाटै उनीहरूले आलोपालो पिउने पानी भर्नेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्नेसम्मका काम गर्छन् ।
भारतको पञ्जाब, मुम्बई र दिल्लीमा मजदुरी गरेर दैनिकी चलाउँदै आएका यहाँका बासिन्दाको टोलसम्म अझै सडक सञ्जाल पुगेको छैन । कोही बिरामी पर्दा पाँच सय मिटरसम्म बोकेरै लैजानुपर्छ र बल्ल सडकसम्म पुगिन्छ । ‘हिँडेर खेतबारी हुँदै टोलसम्म आउने अवस्था रहे पनि त्यो बाटो हिलाम्य रहँदा अहिले साइकलसम्म ल्याउन सकिँदैन,’ २५ वर्षका कमलेशकुमार सदाले भने, ‘टोलमा पनि घर–आँगन हुँदै एकअर्काको घरसम्म पुग्नुपर्छ ।’
गाउँपालिकाले अति विपन्न दलित परिवारको जनजीवन सहज पार्न केही काम नगरेको उनको गुनासो छ । साइकल–मोटरसाइकल चढेर सखडामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र गाउँपालिका पुग्न उनीहरूलाई भारततिर निस्केर नेउर नाका हुँदै आउनुपर्ने बाध्यता छ । तर, त्यसरी आउँदा र फर्किंदा भारतीय सुरक्षाकर्मीसँग चेकजाँच गराउनुपर्दा उनीहरूलाई सास्ती भइरहेको छ । ‘बजारबाट तरकारी लिएर घर फर्किंदा पनि चेकजाँच गराउनुपर्छ,’ ५५ वर्षीय रामसुन्दर सदाले भने, ‘पटक–पटक अवगत गराउँदा पनि जनप्रतिनिधिले टोलसम्म सडक बनाइदिएनन् । हामीलाई घर पुग्नै कहिलेसम्म भारतीय प्रहरीसँग चेकजाँच गराउनुपर्ने हो ?’
उनीहरूले विपन्न परिवारलाई ‘भोट बैंक’का रूपमा प्रयोग गरिरहेको भन्दै आक्रोश पनि पोखे । ‘अहिलेका अध्यक्षले पनि भोट माग्न आउँदा निर्वाचित भएपछि पहिलो काम नै यही टोलको गर्ने प्रतिबद्धता जनाए पनि तीन वर्ष बित्न लाग्दा पनि एउटै काम भएको छैन,’ ६१ वर्षकी हकनीदेवी सदाले भनिन्, ‘युवालाई विश्वास गरेर पछुतो हुँदैछ, बरु यसअघिका अध्यक्षको पालामा टोलमा माटोग्राभेलको काम भएको थियो ।’
वडाध्यक्ष विजयकुमार यादवले भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सदा समुदायलाई आवतजावत गर्न समस्या भइरहेको बताए । ‘सदा समुदाय पुस्तौंदेखि दशगजामा पहिला नै बनेको सडक हुँदै सखडासम्म आउजाउ गर्छन् तर दुई अढाई वर्षयता भारतीय सुरक्षाकर्मी नेपालतिर आएर चेकजाँच गर्न थाल्दा समस्या थपिएको हो,’ उनले भने, ‘नेपालतिर दशगजा छेउमा अर्को सडक बनाउन लाग्दा दिइएन । मैले माथिसम्म पनि कुरा राखेँ तर अझै समाधान हुन सकेन ।’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ती विषयमा बुझेर पहल गर्ने बताए ।
