प्रमुख प्रशासकीय अधिकृत यादवले अध्यक्ष र कार्यवाहक अध्यक्षको विवादले तलब खुवाउन नसकिएको बताए ।
What you should know
राजविराज — जनप्रतिनिधिबीचको द्वन्द्वले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । बजेट बाँडफाँट र निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि किचलो हुँदा गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले गत साउनदेखि तलब नपाएका हुन् ।
तलबका लागि पटक-पटक गाउँपालिकामा तालबन्दी गरेर आन्दोलन गर्दै आएका उनीहरूले अघिल्लो मंगलबारदेखि विद्यालय पूर्ण रूपमा बन्द गरेका छन् । स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प छ भने वडा कार्यालयबाट पनि कामकाज रोकिएको छ ।
उनीहरूले संघर्ष समिति नै गठन गरेर गाउँपालिका कार्यालयअगाडि धर्ना दिइरहेका छन् । ‘तलब नपाउँदा बालबच्चालाई खुवाउनै समस्या भइरहँदा पनि कसैले वास्ता गरेको छैन,’ समितिका संयोजक दुखन यादवले भने, ‘यसअघि पटक-पटक आन्दोलन गर्दा तलब खुवाउने सहमतिअनुसार मिति पनि तोकियो तर तलब खुवाइएन ।’ संयोजक यादवले तलब नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।
गाउँपालिकामा पछिल्लोपटक थपिएको विवादले पनि उनीहरूले तलब पाउने विषय अन्योलगस्त बनेको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँट गर्न तानातान भइरहँदा नै गत असोज ५ मा गाउँसभाको आयोजना गरिएको थियो । बजेट बाँडफाँट नमिल्दा असोज ७ मा राखिएको बन्दसत्रमा भएको सहमतिपछि योगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको थियो । तर, त्यही दिन बेलुका गाउँपालिकाबाट सम्पर्क कार्यालय, जण्डौल पुगेका अध्यक्ष दिनानाथ चौधरीले वरिष्ठ कर्मचारीका आधारमा निमित्त वा प्रमुख प्रशासकीय अधिकृत नै पठाइदिन पुनः पत्र पठाएपछि अर्को विवाद सुरु भएको हो ।
त्यसअघि तलब माग गर्दै आन्दोलित शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्यक्ष चौधरीको आश्वासनपछि आन्दोलन स्थगित गरेका थिए । तर, निमित्तको विवादले तलब खाने प्रक्रिया लम्बिने भएपछि उनीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका थिए । अध्यक्ष चौधरीले पनि भोलिपल्टै आयुर्वेदका अर्का कर्मचारी सञ्जय साहलाई निमित्त तोकेरै मन्त्रालयमा पनि बोधार्थ पठाएका थिए ।
मन्त्रालयले भने वरिष्ठ कर्मचारीका आधारमा ८ औं तहका रमेश चौधरीलाई आर्थिक कारोबारसहितको जिम्मेवार दिएपछि अध्यक्ष चौधरी असन्तुष्ट बनेका थिए । उनले निमित्तमा रमेशलाई हाजिर गराउन अनाकानी गरिरहँदा नै अघिल्लो कार्तिक १८मा उपाध्यक्ष कल्पना चौधरीसहितले गाउँकार्यपालिकाको बैठक राखेका थिए । तर, सो बैठकमा अध्यक्ष चौधरीले उपस्थिति जनाएनन् । पटक-पटक फोन गर्दा पनि नउठाएको उपाध्यक्ष चौधरीको भनाइ छ ।
सोही बैठकमा अध्यक्ष चौधरीले गत असोज ५ मा राजीनामा दिएको भन्दै राजीनामा स्विकृत गरिएको थियो । उपाध्यक्ष चौधरीसहित गाउँकार्यपालिकाका १५ मध्ये १४ जनाको उपस्थितिमा स्विकृत गरिएको अध्यक्षको राजीनामा पत्रमा पदका लागि आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको भन्दै स्वच्छाले अध्यक्षबाट राजीनामा दिएको उल्लेख छ । तर, अध्यक्ष चौधरीले आफूले राजीनामा नै नदिएको बताए ।
‘उनीहरुका अनुसार निमित्तलाई हाजिर नगराउँदा गलत प्रचारप्रसार गरे,’ उनले भने, ‘मैले राजीनामा दिएकै छैन, त्यो पत्रमा देखिएको हस्ताक्षर पनि मेरो होइन ।’ अब कानुनी बाटो अपनाउने अध्यक्ष चौधरीको भनाइ छ । गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेस र अध्यक्ष नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
गाउँपालिकामा राजीनामाको विवाद चलिरहँदा गत बिहीबार मात्रै मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा धीरेन्द्रकुमार यादवलाई पठाएको छ । उनलाई गाउँकार्यपालिकाको निर्णयअनुसार कार्यवाहक अध्यक्ष बनेकी कल्पना र अध्यक्ष दिनानाथले पालैपातो हाजिरसमेत गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत यादवले अध्यक्ष र कार्यवाहक अध्यक्षको विवादले तलब खुवाउन नसकिएको बताए । ‘सम्भवतः मंसिर १ सम्म निकासा लिएर २ गतेसम्ममा तलब खुवाइसक्छु,’ उनले भने ।
