अस्पताल स्रोतका अनुसार उनको संवेदनशील अंगसहित टाउको, पिठ्युँ, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा निलडाम छ ।
What you should know
सिरहा — सिरहा सदरमुकामस्थित सिरहा कारागारमा एक कैदीमाथि निर्घात कुटपिट भएको छ । चोरी मुद्दामा कारागारमा रहेका सिरहाको मिर्चैया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय प्रमेश्वर सदामाथि निर्घात कुटपिट भएको हो ।
उनीमाथि आइतबार बेलुकी नै कुटपिट भएको कारागार स्रोतले जनाएको छ । तर, कुटपिटबाट गम्भीर घाइते भएका उनलाई त्यसको भोलिपल्ट सोमबार अपराह्न मात्रै सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
अस्पतालमा उनको इमेर्जेन्सी वार्डमा प्रहरीको बाक्लो उपस्थितिमा उपचार भइरहेको छ । प्रहरीले घाइतेसँग सञ्चारकर्मीलाई पनि भेट्न दिएको छैन । अस्पताल स्रोतका अनुसार, उनको संवेदनशील अंगसहित टाउको, पिठ्युँ, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा पाइप तथा भाटा प्रहार भएको देखिएको छ । शरीरभरि निलडाम छ ।
अवस्था बिग्रिँदै गएपछि मात्रै अस्पताल ल्याइएको अस्पतालका एक चिकित्सकले बताए । ‘कारागारमा यस्तो घटना भइरहन्छ, तर घाइतेलाई तत्कालै उपचारमा ल्याउने र घटना लुकाउन खोज्ने प्रवृत्ति छ, यसमा पनि त्यस्तै देखियो,’ ती चिकित्सकले कान्तिपुरसित भने ।
घटना सार्वजनिक भइसके पनि सिरहा प्रशासन भने ढाकछोप गर्ने प्रयासमा लागेको छ । कारागार सुरक्षार्थ खटिने नेपाल प्रहरीका सिरहा प्रवक्ता डीएसपी रमेशबहादुर पालले कारागारका विषयमा आफूहरुलाई त्यति जानकारी नहुने प्रतिक्रिया दिए ।
कारागारका जेलर सुबोध महतोले त सुरुमा घटनाबारे बताउनै चाहेनन् । तपाईंहरुले घटना किन लुकाउन चाहेको ? भन्ने कान्तिपुरको प्रश्नमा उनले सामान्य घटना मात्रै भएको दाबी गर्दै यसलाई बाहिर नल्याइदिन आग्रह गरेका छन् ।
‘सामान्य घटना हो, मिडियामा आएपछि ठूलै इस्यु बन्छ,’ महतोले भने, ‘यसलाई बाहिर नल्याइदिए हामी आभारी हुन्थ्यौं ।’ कुटपिट किन र कसले गरेको भन्ने विषय भने उनले खुलाएनन् ।
