सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गर्दै हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि सरोजकुमार यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।
जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दै पहिलो निर्णय गरेका छन् । सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गर्दै हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि सरोजकुमार यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । सहिद परिवारहरुलाई रकमसहित 'मधेश विभूति'बाट सम्मान गर्ने निर्णय उनले गरेका हुन् ।
मंगलबार साँझ दक्षिणतर्फ रहेको सशस्त्र ब्यारेकको बाटोबाट प्रवेश गरेर मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका छन् । उक्त समय सात दलका नेता कार्यकर्ताहरु भने मधेश भवनको छेउबाट रहेको पूर्व–पश्चिमको बाटोमा धर्नासहित प्रदर्शन गरेका थिए । त्यही समय आएको सर्वोच्च अदालतको आदेशको खुसीयाली पनि मनाएका थिए । तर, मुख्यमन्त्रीले पदभार ग्रहण गरेको खबर पाएपछि प्रदर्शनकारीहरू चर्को नाराबाजीमा उत्रेका थिए ।
भीडलाई नियन्त्रणमा ल्याउन प्रहरीले लाठि चार्ज गरेका थिए । त्यसपछि भीड तितरबितर भएको थियो । प्रहरीको लाठी चार्जबाट आक्रोशित भएको भीड रेलबे लिकबाट ढुंगा ल्याएर प्रहरी भएकोतर्फ फ्याँकिरहेका थिए । अहिले त्यहाँको अवस्था सामान्य भएको छ । घाइतेको विषयमा यकिन विवरण नआएको धनुषा प्रहरीले जनाएको छ ।
