मिटरव्याज पीडितका गुनासै गुनासा

प्रहरी भन्छ– ‘विवाद समाधानमा राम्रो सफलता मिलेको छ ।’

कार्तिक २४, २०८२

शंकर आचार्य

Complaints from meter interest victims

What you should know

पर्सा — पोखरिया नगरपालिका–१० शिवबर्वाकी चन्द्रावती देवीले नौ वर्षअघि स्थानीय साहु फुलेना राउतसँग १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । कपाली तमसुकको कागज गरेर ऋण लिएकी उनले साहुलाई १ लाख ९ हजार रुपैयाँ साँवा र व्याज बापत बुझाइसकेकी थिइन् । थोरै व्याज तिर्न बाँकी रहँदा साहुले कपाली कागज फिर्ता नदिएर उनका पति शंकर साहविरुद्ध जिल्ला अदालतमा मुद्दा दिएर पक्राउ पुर्जी जारी गराए ।

त्यसअघि उनका पति शंकर साहसँग साहु फुलेनाले आफ्ना भाइलाई साहु बनाएर थप १ लाख रुपैयाँ ऋण लिएको अर्को कपाली कागज पनि बनाए । अहिले दुवै कपाली कागज फिर्ता दिन ३ लाख रुपैयाँ मागेका छन् । ‘१ लाख ऋण लिएकी मैले त्यो ऋण चुक्ता गरिसक्दा पनि अब थप ३ लाख रुपैयाँ कहाँबाट ल्याएर साहुलाई बुझाऊँ ?,’ उनले भनिन्, ‘पक्राउ पुर्जी जारी भएकाले मेरा पति पनि घरमा बस्न पाउनु भएको छैन ।’ 

तीनै साहु फुलेना राउतसँग चन्द्रावतीकै छिमेकी ७० वर्षीय देवराज राउत कुर्मीले चार वर्षअघि १ लाख रुपैयाँ ऋण लिएका थिए । नियमित व्याज बुझाइरहेका वृद्ध देवराजलाई यही कात्तिक ४ गते फुलेनाले साँवासहित व्याजको माग गर्दै सार्वजनिक स्थलमै हातपात गरे । अपमानको पीडाले अचेतझैं भएका देवराज घटनापछि वीरगन्जस्थित नारायणी अस्पतालमा चार दिन भर्ना भएर मात्र घर फर्कन सके । ‘म वृद्धलाई सार्वजनिक स्थलमै हातपात गरेर साहुले अपमान गरे,’ उनले भने, ‘के यो देशमा न्याय मरिसकेको छ, गरिबको इज्जतै हुँदैन !’

सोमबार वीरगन्जमा मिटरव्याजपीडित किसान मजदुर आन्दोलन जिल्ला समिति र लघु वित्त पीडित संस्थाले संयुक्त रूपमा आयोजना गरेको पीडितहरूको भेलामा पीडितले यसरी आ–आफ्नो पीडा र व्यथा सुनाए । 

मिटरव्याजपीडित किसान मजदुर आन्दोलन जिल्ला समितिका सचिव शम्भुप्रसाद यादवले सरकारले मिटरव्याजपीडित र लघु वित्त पीडितहरूलाई न्याय दिलाउन अझै पनि नसकेको आरोप लगाए । ‘पीडितको संख्या अहिले सार्वजनिक भएको भन्दा दोब्बरी बढी छ,’ उनले भने, ‘पीडितले अझै पनि न्याय पाउन सकेका छैनन् ।’

यता मिटरव्याजपीडितहरूको उजुरी लिई उनीहरूको साहुसँग रहेको लेनदेनको विवाद समाधान गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले भने मिटरव्याजपीडितको उजुरीको हकमा थुप्रै प्रगति भएको दाबी गरेको छ । Complaints from meter interest victims

प्रहरीको तथ्यांक अनुसार सोमबारसम्ममा मिटरव्याजपीडितका २ हजार ३ सय ६७ उजुरीमध्ये १ हजार ६ सय ९७ फर्स्योट भइसकेका छन् । यी उजुरीमा साहुको ४४ करोड २६ लाख २७ हजार ३ सय ८३ रुपैयाँ उजुरी दाबी रहेकामा २९ करोड १२ लाख ८५ हजार ५ सय ५७ रुपैयाँ बिगो रकम कायम गरी विवाद समाधान गरिएको छ । त्यसैगरी, साहुबाट पीडितहरूलाई ४० बिघा १५ कठ्ठा १९ धुर जग्गा फिर्ता गराइएको छ । 

पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले संख्यात्मक रूपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाहरूको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको दाबी गरे । कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफैं सम्पर्कविहीन भएकाले समेत उनीहरूको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको उनले बताए । त्यसैगरी, अदालतबाट फैसला भइसकेका मुद्दामा पनि उजुरी पर्दा त्यसलाई प्रहरीले हेर्न नमिल्ने कानुनी जटिलता रहेको छ । 

पीडकहरूले आफूविरुद्ध उजुरी परेलगत्तै अदालतमा निषेधाज्ञाको रिट हाल्ने प्रवृत्तिले पनि उजुरीउपरको छानबिन प्रक्रियामा जटिलता आउने गरेको उनले बताए । यसका साथै प्रहरीसमक्ष एकथरी सहमति गरेर जाने दुवै पक्ष घर पुगेपछि त्यो सहमतिमा कायम नहुने प्रवृत्तिले पनि समस्या भइरहेको डीएसपी बस्नेत बताउँछन् । 

सामान्यतया मिटरव्याजीहरूले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरदेखि तेब्बरसम्म बढीको बैंक चेक र जग्गासमेत आफ्नो नाममा धितोबापत पास गराएर राख्ने प्रवृत्ति रहेको छ । साहुले व्याजको रकम पनि साँवामा गाभेर व्याजी मिटर कुदाउने गर्छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully