कतै उपकरण छन्, डाक्टर छैनन् त कतै डाक्टर छन् उपकरण बिग्रिएर थन्किएका छन् ।
What you should know
महोत्तरी — जलेश्वर नगरपालिका–२ की सुदमा देवीको आर्थिक अभावमा उपचार गराउन सक्ने अवस्था छैन । ढाडको समस्याले ग्रस्त सुदमा हिँडडुल र उठबस गर्न सक्दिनन् । घरमा पीडाले छटपटिरहेको देख्न नसकेर बुहारी सन्तोषी देवीले शुक्रबार उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइन् । अस्पतालका चिकित्सकले तत्काल एक्सरे गराउन सुझाव दिए ।
चिकित्सक र अन्य जाँचको सबै सुविधा एकै ठाउँमा पाउने भएर सरकारी अस्पताल आएकी सुदमालाई एक्सरे गराउन बाहिर पठाउँदा उनी उपचार नै नगराई घर फर्किइन् ।
जलेश्वर प्रादेशिक अस्पतालमा आधुनिक डिजिटल एक्सरे मेसिन थन्किँदा सेवाग्राही, बिरामी समस्यामा परेको यो एक उदाहरण मात्रै हो । पछिल्लो एक दशकमा यहाँ ठूला भवनसँगै महंगा उपकरण खरिदमा बर्सेनि बजेट खर्च हुन्छ । तर प्रयोगमा आउन सकेको छैन । अस्पतालको भौतिक संरचना निर्माण, मर्मत र उपकरण खरिदमा ठूलो रकम खर्च भए पनि अस्पतालको सेवामा कुनै सुधार हुन सकेको छैन ।
प्रादेशिक अस्पतालको एक्सरे मेसिन बिग्रिएर लामो समयदेखि थन्किएको छ । अस्पतालका कर्मचारीले बाहिर एक्सरे गराउन सिफारिस गर्दै आएका छन् ।
चीनबाट आएको एक्सरे मेसिन मर्मतका लागि उतैबाट सामान मगाउनु पर्दा मर्मतमा ढिलाइ भएको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) विकास साहले बताए ।
प्रदेशिक अस्पताल जलेश्वरको बिग्रिएर थन्किएको एक्सरे मेसिन ।
आईसीयू, डायलासिका उपकरण गोदाममा थन्किएको छ । अस्पतालमा जनशक्ति अभाव र स्तोरोन्नति नगर्दा १५ शैयाको प्रादेशिक अस्पतालमा जनशक्ति अभावकै कारण आईसीयू, भेन्टिलेटर, डायलासिस, एन आईसीयूका लागि खरिद भएका उपकरण पनि प्रयोगमा आउन सकेका छैनन् । अस्पतालको शैयामा जडान भएको मोनिटर प्रयोगमा आउन सकेको छैन ।
मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयका कर्मचारीले कमिसनका लागि महँगा उपकरण खरिद गरी जलेश्वर प्रादेशिक अस्पताललाई जिम्मा लगाउँदै आएका छन् । अस्पतालले माग नै नगरेका उपकरण यहाँ थुपारिएको छ । उपकरण प्रयोग तथा सञ्चालनका लागि कुनै प्रयास भएको छैन । प्रादेशिक अस्पतालको सेवा दिनप्रतिदिन कमजोर बन्दै गएको छ । सरकारी उदासिनता र राजनीतिक खिचातानीका कारण प्रादेशिक अस्पताल रेफर अस्पताल बनेको छ ।
कोभिड महामारीको समयमा प्रदेश सरकारबाट प्राप्त भएको सघन उपचार गर्ने उपकरण अझै प्रयोगमा आउन सकेको छैन । प्रदेशिक अस्पताल जलेश्वरको दोस्रो तल्लामा उपकरण जडान भएपछि सघन उपचार कक्ष (आईसीयू) सेवा तयारी अवस्थामा छ । अस्पतालमा आईसीयू छ । तर अस्पताल प्रशासनले सञ्चालन गर्ने जनशक्ति भर्ना गर्न नसक्दा आईसीयूमा ताल्चा झुण्डिएको छ । उपकरण धूलाम्मे भएका छन् ।
प्रदेशबाट अस्पतालमा उपकरण आयो तर जनशक्तिको व्यवस्था नहुँदा आईसीयू, भेन्टिलेटर प्रयोगमा नआउँदै बिग्रिएको मेसु साहले बताए । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति विभागले अस्पताललाई चिकित्सक र नर्सिङ स्टाफबिना नै उपकरण जिम्मा लगाउँदा उपकरण प्रयोगविहीन बनेको हो । पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसियू सेट प्रयोगविहीन अवस्थामा छन् ।
प्रदेशिक अस्पताल जलेश्वरको वार्डमा प्रयोगविहीन अवस्थामा रहेको मोनिटर । तस्बिरहरू : सन्तोष सिंह
प्रदेशले अस्पताललाई दिएको डायलासिस मेसिन पनि सञ्चालनमा नआउँदै बिग्रिएको छ । अत्याधुनिक डायलासिस मेसिन खरिद गरी अस्पतालमा ल्याएर प्रयोगमा नआउँदै बिग्रिएको अस्पताल प्रशासनले जनाएको छ । दुई वर्षअघि खरिद भएको डायलासिस मेसिन जडान नहुँदै बिग्रिएको हो । मर्मत र परीक्षण नगरी लामो समयसम्म थन्किँदा मेसिनमा प्राविधिक समस्या देखिएको अस्पतालका मेसु साहले बताए ।
मेसिन कलको पानी जोडेर चलाउन खोज्दा आरोप्लान्ट बिग्रिएको र डायलासिसका लागि आवश्यक जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको हो । अस्पताल प्रशासनले जनशक्ति अभाव र मेसिन बिग्रेका कारण सेवा डायलासिस सेवा सुरु गर्न नसकेको जनाएको छ । जलेश्वर प्रादेशिक अस्पतालको डायलासिस सेवा सञ्चालनमा नआएका कारण मिर्गौला रोगी जनकपुर र भारतका निजी अस्पताल धाउन बाध्य छन् ।
प्रदेश सरकारले अस्पतालमा उपकरण खरिद गरी पठाउने, भौतिक संरचना निर्माण गर्न बजेट खर्च गर्छन् तर सेवा सुधार्न, उपकरण सञ्चलन गर्न, मर्मत गर्न बजेट नपठाउँदा अस्पताल सञ्चालन गर्न समस्या भइरहेको मेसु साहले आरोप लगाए । बोलीमा १ सय शैयाको उपकरण छ तर व्यवहारमा १५ शैयाको जनशक्तिले कसरी सम्भव हुन सक्छ ?,' मेसु साहले भने, ‘उपकरण दिने सरकारले चलाउने जनशक्ति दिँदैन । अस्पताल चलाउन तालमेल नमिल्दा २ वर्षमा ७ जना मेसु फेरिए ।’ प्रदेश सरकारले समयमा औषधि नपठाउँदा दिनहुँ समस्या भइरहेको पनि उनले सुनाए ।
नाम प्रादेशिक अस्पताल रहे पनि अस्पतालमा समान्यतया स्वास्थ्य चौकीमा नि:शुल्क पाइने औषधिसमेत छैन । सरकारले ९८ प्रकारका औषधि नि:शुल्क दिने घोषणा गरे पनि यस अस्पतालमा सेवाग्राहीले २४ प्रकारका औषधि मात्र पाउने गरेका छन् । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले औषधि नपठाउँदा अस्पतालमा औषधिको पनि अभाव छ ।
जलेश्वर प्रादेशिक अस्पतालअगाडि भाडामा लागेका सटरहरू अवैध रूपमा सञ्चालनमा रहेका छन् । अस्पतालमा निर्माण गरिएका सटरहरू कसले र कहिलेदेखि भाडामा लिएका हुन् भन्ने कुनै अभिलेख अस्पतालसँग छैन । अस्पतालका नाममा निर्माण गरिएका सटरमा अहिले विभिन्न निजी पसल र क्लिनिक सञ्चालनमा छन । नेपाल सरकारले स्पष्ट रूपमा अस्पताल परिसरभित्र निजी क्लिनिक, औषधि पसल वा मदिरा पसल सञ्चालन गर्न निषेध गरेको भए पनि जलेश्वर प्रादेशिक अस्पतालमा ती सबै सञ्चालन भइरहेका छन् । रोक्न खोज्दा र व्यवस्थित गर्न खोज्दा स्थानीयले अवरोध गरेको प्रदेशिक अस्पतालका मेसु साहले बताए ।
अस्पतालमा विभिन्न स्वार्थ समूह सक्रिय हुँदा चिकित्सकलाई काम गर्ने वातावरण नभएको यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् । सामान खरिद, औषधि सप्लाई, करारमा आफन्तको नियुक्त, अस्पतालको सटर तथा घर भाडाका लागि स्थानीय व्यवसायी र राजनीतिक दलबीच विवाद हुँदा अस्पतालको सेवा प्रवाहमा समेत गम्भीर असर परिरहेको छ ।
