वीरगञ्ज नाकाबाट तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा आयात १९ प्रतिशतले वृद्धि भएको छ, अर्थात् ३४ अर्ब २३ करोड रुपैयाँ बढीका सामान आयात भएका हुन्

कार्तिक २२, २०८२

रासस

पर्सा — वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षका तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका सामान आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा आयात १९ प्रतिशतले वृद्धि भएको छ, अर्थात् ३४ अर्ब २३ करोड रुपैयाँ बढीका सामान आयात भएका हुन् ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षका तीन महिनामा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवका तीन महिनामा वीरगञ्ज नाका हुँदै आयात ह्वात्तै बढेको छ ।

वीरगञ्ज नाका हुँदै तीन महिनामा ३८ अर्ब नौ करोड रुपैयाँ मूल्यका पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यसैगरी १९ अर्ब ८४ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा १५ अर्ब ५७ करोड मूल्यका मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १४ अर्ब ८० करोड मूल्यको भटमासको कच्चा तेल आयात भएको छ ।

रिपोर्टका अनुसार १२ अर्ब ८१ करोड मूल्यका मलखाद, १२ अर्ब १६ करोड मूल्यका सबै प्रकारका कपडा र १२ अर्ब छ करोड मूल्यका विद्युतीय मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । सोही अवधिमा १० अर्ब १२ करोड मूल्यका यातायातका साधन तथा तिनका पार्टपुर्जा पनि आयात भएका छन् ।

रासस

Link copied successfully