वीरगन्ज–रक्सौल नाका बन्द

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार सूचना जारी गर्दै सीमा नाका बन्द गरेको जनाएको हो ।

कार्तिक २२, २०८२

शंकर आचार्य

Birgunj-Raxaul border crossing closed

What you should know

पर्सा — भारतको बिहार राज्यको दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै वीरगन्ज–रक्सौल नाका शनिबार बिहान ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार सूचना जारी गर्दै सीमा नाका बन्द गरेको जनाएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कात्तिक २२ देखि २५ गते साँझ ६ बजेसम्म अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाइएको बताए । 

निर्वाचनको दिन कात्तिक २५ गते साँझ ६ बजेसम्म नाका पूर्ण रूपमा सिल रहने निर्णय भएको सूचनामा उल्लेख छ । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको असोज २९ गतेको बैठकको समझदारीअनुसार सीमा बन्द गरिएको हो ।

बिहारको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौल, अरेराज, सिकटा, मोतिहारीलगायत क्षेत्रमा कात्तिक २५ गते दोस्रो चरणको निर्वाचन हुँदै छ ।

सुरक्षाको दृष्टिकोणले बिहार सरकारले ७२ घण्टा अगावै सीमा सिल गर्न आग्रह गरेको थियो । सुरुमा ४८ घण्टा अगाडि सिल गर्ने भनिए पनि शुक्रबार राति अचानक ७२ घण्टाको सूचना आएपछि शनिबार बिहान ६ बजेदेखि नै नाका बन्द गरिएको कार्कीले बताए । हाल दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा निगरानी बढाएका छन् ।

अचानक बिहान ६ बजेदेखि नै नाका बन्द गरिएपछि यात्रुहरू समस्यामा परेका छन् । औषधि उपचार, अध्ययन, दैनिक उपभोग्य सामग्री खरिद, पारिवारिक कार्यक्रम र धार्मिक भ्रमणका लागि नेपाल–भारत आवतजावत गर्न लागेका यात्रुहरू नाकाबाट फर्किएका छन् । आवश्यक कागजात भएका भारतीय नागरिकलाई पैदल मात्र सीमा पार गर्न अनुमति दिइएको छ । 

सवारीसाधनको आवागमन पूर्ण रुपले ठप्प भएको छ । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully