गाउँपालिकाले टोलका बिरामीलाई जीवनजल र औषधि वितरण गर्दै २४ घण्टा स्वास्थ्यकर्मी परिचालन गरेको छ भने अहिलेसम्म ११ जनाको मात्र आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट) गरेको छ । संक्रमण फैलिएको पुष्टि भए पनि यहाँ शुद्ध पानी वितरण भएको छैन।
What you should know
राजविराज — झाडापखालाबाट आठ दिनमा तीन जनाको मृत्यु भएपछि हैजा पुष्टि भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा संक्रमणको स्रोत के थियो भन्ने अझैसम्म पत्ता लागेको छैन ।
झाडापखालाबाट कात्तिक ६ गते ३३ वर्षीय बुचन सदाका एक वर्षका छोरा सञ्जीवको मृत्यु भएको थियो । त्यसको एक साता नबित्दै कात्तिक ११ गते उनका ६६ वर्षीय बुबा लक्ष्मण र कात्तिक १४ गते उनकी चार वर्षीया छोरी राघिनीको पनि झाडापखालाले मृत्यु भएपछि मात्रै गाउँपालिकाले थाहा पाएको थियो ।
गाउँपालिकाले टोलका बिरामीलाई जीवनजल र औषधि वितरण गर्दै २४ घण्टा स्वास्थ्यकर्मी परिचालन गरेको छ भने अहिलेसम्म ११ जनाको मात्र आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट) गरेको छ । तीमध्ये पोजिटिभ देखिएका पाँच जनाको कल्चर परीक्षणमा पनि हैजा पुष्टि भइसकेको छ, तर गाउँपालिकाले अझै शुद्ध खानेपानी वितरण गरेको छैन । गत सोमबारै वितरण गर्न ल्याइएका तीन सय बोतल पानी स्वास्थ्य चौकी लोखरममा थुपारेर राखिएको छ ।
शौचालयविहीन सो टोलका बासिन्दा अझै पोखरीको डिल, झाडी र खेतबारीमा शौच गर्न बाध्य छन् । बुधबार मात्र फेर मेडको सहयोग र गाउँपालिकाको समन्वयमा सबल नेपालले टोलमा सरसफाइ तथा किटनाशक औषधि छरेको थियो । तर सरसफाइको काम पनि निरन्तर हुन सकेको छैन । अझैसम्म हैजा कसरी र कहाँबाट फैलिएको हो भन्ने स्रोत यकिन गर्न नसक्दा दैनिक झाडापखालाका बिरामी थपिँदै गएका छन् ।
टोलका ४४ जना उपचारपछि निको भई घर फर्किए पनि १८ जना अझै पखालाले ग्रस्त छन् । सात जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा र दुई जनाको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने नौ जना होम आइसोलेशनमा छन् । सातै जनाको उपचार भइरहेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. अमित यादवले भने, ‘उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’
गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा गत बुधबार चापाकल, पोखरी र खोला गरी सात वटा पानीको नमूना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो । तर रिपोर्ट भने आएको छैन । ‘रिपोर्ट आउन अझै समय लाग्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश यादवले भने, ‘भर्खरै सरोकारवालाको बैठक सकिएको छ, त्यसमा हामीले शुद्ध खानेपानी वितरण गर्न सहयोगी संघ–संस्थासँग समन्वय गरिसकेका छौं ।’
शुक्रबारबाटै खानेपानी वितरण गरिने प्रमुख डा. यादवको भनाइ छ । तर गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने, खानेपानीमै हैजाको स्रोत पुष्टि भएपछि टोलमा पानी वितरणका लागि तयारीस्वरूप स्वास्थ्य चौकीमा पानीका बोतल थुपारेर राखिएको बताए ।
स्वास्थ्य सेवा विभागले संक्रमित बिरामीको उपचारमा सहजीकरण र वस्तुस्थितिबारे बुझ्नका लागि एक जना चिकित्सक पठाएको छ । विभागले बुधबार साँझ पठाएका डा. आनन्द सिंहले स्वास्थ्य चौकीमा आउने बिरामीलाई उपचार सेवा दिइरहेका छन् ।
