सरकारले गम्भीरता नदेखाए शुक्रबार बैठक बसेर थप सशक्त आन्दोलनका निर्णय गरिने अध्यक्ष अग्रवालले बताए ।
राजविराज — करदाता सेवा कार्यालय सार्न लागेको भन्दै सप्तरीको राजविराजमा बिहीबार साँझ प्रदर्शन भएको छ । सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा युवा, व्यवसायी, जेन-जी समूह र राजनीतिक दलका नेता-कार्यकर्ताले गजेन्द्र चोकमा टायर बालेर प्रदर्शन गर्दै चक्काजामसमेत गरेका हुन् ।
उनीहरूले सरकारले षड्यन्त्रपूर्वक करदाता सेवा कार्यालय सार्न लागेको आरोप लगाए । संघका अध्यक्ष लालुप्रसाद अग्रवालले सर्वपक्षीय बैठकबाट भएको निर्णयअनुसार प्रदर्शन र एक घण्टा चक्काजाम गरिएको बताए । सरकारले गम्भीरता नदेखाए शुक्रबार बैठक बसेर थप सशक्त आन्दोलनका निर्णय गरिने अध्यक्ष अग्रवालले बताए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले करदाता सेवा कार्यालय सार्न लागेको विषयमा औपचारिक जानकारी नरहेको बताए । 'अर्थ मन्त्रालयको परिपत्र हेर्दा करका केही काम स्थानीय तह र केही कोष तथा लेखा नियन्त्रक कार्यालयमा समायोजन गर्ने देखिन्छ,’ उनले भने, ‘तर, करदाता सेवा कार्यालय सार्ने विषय मेरो जानकारीमा छैन ।’
