निकुञ्ज कार्यालयसँग बाघको आहारा शीर्षकमा छुट्टै बजेट नहुने भएकाले वन्यजन्तु उपचार शीर्षकमा रहेको थोरै बजेटबाट जसोतसो धानिएको निकुञ्जका संरक्षण एवं सूचना अधिकृत सन्तोष भगतले बताए ।
What you should know
पर्सा — पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा अन्यत्रबाट उद्धार गरी ल्याइएका बाघलाई आहारा दिन समस्या भएको छ । हाल यहाँ निकुञ्जकर्मीले २ वटा बाघ स्याहार्दै छन् । दुवै बाघ नरभक्षी भएकाले डार्ट गरी समातेर यहाँ ल्याइएका हुन् ।
तीमध्ये एउट भाले बाघ बाराबाट र अर्को चितवनबाट उद्धार गरी यहाँ ल्याइएको हो । चितवन निकुञ्जमै क्षमताभन्दा बढी यस्ता उद्धार गरिएका बाघ भएपछि छिमेकी पर्सा निकुञ्जमा पठाइने गरिएको छ ।
निकुञ्जका संरक्षण एवं सूचना अधिकृत सन्तोष भगत बाघ थपिँदै गए पनि निकुञ्जमा बाघको स्याहार सुसार गर्ने छुट्टै कर्मचारीको भने दरबन्दी नरहेको बताउँछन् । निकुञ्जकै स्काउट तथा गेमस्काउट कर्मचारीले दैनिक बाघ स्याहार्ने काम गरिरहेको उनले बताए ।
दैनिक निकुञ्जका स्काउट र गेमस्काउट गरी २/३ जना कर्मचारी बाघ स्याहार्ने काममा पालैपालो खटिने. गरेको उनले बताए । खोरको सरसफाइ गर्ने, घाइते तथा बिरामी बाघको औषधोपचारको व्यवस्था मिलाउने र बाघलाई दैनिक आहारा दिने काम पनि उनीहरूले नै गर्छन् ।
हाल एउटा बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासुको आहारा दिने गरिएको छ । उक्त मासु प्रतिकिलो ४ सय रुपैयाँका दरले खरिद गर्ने गरिएको छ । निकुञ्ज कार्यालयसँग बाघको आहारा शीर्षकमा छुट्टै बजेट नहुने भएकाले वन्यजन्तु उपचार शीर्षकमा रहेको थोरै बजेटबाट जसोतसो धानिएको भगत बताउँछन् । यही बजेटबाट मानव बस्ती प्रवेश गर्ने हात्ती धपाउने र बाघ नियन्त्रण गर्ने खर्चको पनि व्यवस्था गर्नु परेको उनले बताए ।
बाघको आहाराका लागि बजेट जुटाउन विभिन्न संघसंस्थालाई गुहार्नु परेको पनि उनले बताए । नियन्त्रणमा लिइएका बाघ प्रायः घाइते वा बिरामी हुने भएकाले उनीहरूलाई लामो समय उपचारको आवश्यकता पर्ने गरेको छ । यस्ता बाघलाई उपचारपछि स्वस्थ बनाएर फेरि निकुञ्जको वन क्षेत्रमै छोड्ने गरिन्छ । तर यसका लागि विभागको अनुमति आवश्यक हुन्छ । हतारमा जंगलमा लगेर छोडे फेरि पनि बाघ मानव बस्ती पसेर जनधन र चौपायाको क्षति गर्ने प्रबल सम्भावना हुन्छ, त्यस कारण पनि यिनलाई लामो समय औषधोपचार र स्याहार गरेपछि विभागको अनुमति मागेर मात्र पुनः उनीहरूको प्राकृतिक बासस्थानमा छोड्ने गरिएको भगत बताउँछन् ।
पर्सा निकुञ्जमा भने बयस्क बाघको संख्या ४१ पुगिसकेको छ । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासको कारण बर्सेनि बाघको संख्या बढ्दै गएको हो । पछिल्लो बाघ गणनाको नतिजाले निकुञ्जमा ४१ बयस्क बाघ रहेका छन् । हाल भने निकुञ्जमा बाघको संख्या झनै बढेको अनुमान भगतको छ । यस वर्ष पनि बाघ गणना गर्ने तयारी रहेको उनले बताए ।
