एक दिन पनि टिकेन निमित्त मेसुको जिम्मेवारी

तर, बुधबार जेन–जी सप्तरीका युवाहरूले निमित्त मेसु नराख्नेलगायत चारबुँदे मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापन–पत्र बुझाएपछि पुनः डा.साहलाई नै यथावत् गरिएको छ ।

कार्तिक १९, २०८२

विद्यानन्द राम

The responsibility of the mesu did not last even a day.

राजविराज — सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट  (मेसु)लाई हटाएर १० औं तहका कर्मचारीलाई निमित्त दिएको भोलिपल्टै जिम्मेवारी खोसिएको छ । मंगलबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ देखि कार्यरत ११ औं तहका मेसु डा.प्रकाशप्रसाद साहलाई हटाएर १० औं तहका कर्मचारी डा.नागेन्द्रप्रसाद यादवलाई निमित्तको जिम्मेवारी दिएको थियो ।

तर, बुधबार जेन–जी सप्तरीका युवाहरूले निमित्त मेसु नराख्नेलगायत चारबुँदे मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापन–पत्र बुझाएपछि पुनः डा.साहलाई नै यथावत् गरिएको छ । बुधबार मन्त्रालयको कर्मचारी प्रशासन शाखाले चलानी नम्बर २०८ उल्लेख गरी पठाएको पत्रमा डा.साहलाई अर्को व्यवस्था नभएसम्मका लागि यथावत् रूपमा कामकाज गर्न भनिएको छ ।

बुधबार पठाइएको सो पत्रमा कार्तिक १८ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार भनी उल्लेख गरिएको छ । यसअघि मंगलबार डा.यादवलाई निमित्त तोकिएको पत्रमा समेत कार्तिक १८ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार उल्लेख गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत जेन–जी युवाहरूले बुझाइएको ज्ञापन–पत्रमा अस्पतालमा दरबन्दी रही काज सरुवामा रहेका चिकित्सक र कर्मचारीलाई फिर्ता वा वैकिल्पक व्यवस्था हुनुपर्ने, शीघ्र ३ सय शय्याको अस्पतालका लागि आवश्यक व्यवस्थापन मिलाउनुपर्ने र अस्पतालमा विशेष सेवा थप हुनुपर्ने माग गरिएको छ । स्वास्थ्यकर्मी र प्रशासन कर्मचारीको व्याप्त अभाव खेपिरहेको अस्पतालमा जनभावनाविपरीत गतिविधि नगर्न पनि ज्ञापन–पत्रमा आग्रह गरिएको थियो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully