मुख्यमन्त्री सोनलले शनिबार विश्वासको मत लिने

यही कात्तिक २२ गते शनिबार विश्वासको मत लिने भएकाले त्यसका लागि व्यवस्था मिलाइ दिन आज (बुधबार) मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा पत्र पठाएका हुन् ।

कार्तिक १९, २०८२

कमलेश ठाकुर

Chief Minister Sonal to take vote of confidence on Saturday

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी शनिबार विश्वासको मत लिने तयारी गरेका छन् । यही कात्तिक २२ गते शनिबार विश्वासको मत लिने भएकाले त्यसका लागि व्यवस्था मिलाइ दिन आज (बुधबार) मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा पत्र पठाएका हुन् ।

मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत पाएपछि मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता साझेदार दलसँग सहमति गरेका छन् । सत्ता साझेदार दलहरूले विश्वासको मतका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)सँग पनि सहयोग गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त ५६ मध्ये जनमत पार्टीका १३ सांसद पनि रहेका थिए । तर, जनमत पार्टीबाट अलगिएर दुई जना सांसद जनस्वराज पार्टीमा पुगेका छन् भने जनता समाजवादी पार्टी (जसपा)का सांसद सरोज सिंह कुशवहा निलम्बित भइसकेका छन् । त्यसैले सुरुआती ५६ मतमध्ये यी तीन मत अब सोनलले पाउने सम्भावना छैन ।

यद्यपि अहिले नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने भएका छन् । दुवै पार्टीका प्रदेशसभामा एक–एक जना सदस्य छन् । यी दुईको समर्थन जोडिएपछि सोनल सरकारको मत संख्या ५५ पुग्ने देखिन्छ ।

१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन् । बहुमतका लागि ५३ मत आवश्यक पर्छ । त्यस अनुसार सोनल नेतृत्वको सरकारलाई बहुमत प्राप्त हुने देखिन्छ ।

हाल सरकारमा जसपा नेपालको १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य सहभागी छन् ।

सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस र जनमतबाट अलगिएर बनेको जनस्वराज पार्टी प्रतिपक्षमा बस्ने तयारीमा छन् । जनस्वराज र राप्रपाका सांसदहरू तटस्थ रहने मनसायमा छन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully