कात्तिक १३ देखि पुनः चलाइएको अभियान प्रभावकारी हुँदै गएको र थप ३ प्रतिशतले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन्
पर्सा — छठअघि संचालित हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले पूर्ण सफलता पाउन नसकेपछि पर्सामा फेरि उक्त अभियान संचालन गरिएको छ ।
कात्तिक १३ देखि पुनः चलाइएको अभियान प्रभावकारी हुँदै गएको र थप ३ प्रतिशतले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन् । यसअघि अभियानले ८४ प्रतिशत मात्र समेटेको पाइएको थियो । हाल थप ३ प्रतिशत बढेर कभरेज ८७ प्रतिशत पुगेको छ । ठाकुरले यो अभियानलाई थप केही दिन विस्तार गरेर शतप्रतिशत लक्षित जिल्लावासीलाई खोप दिइने दाबी गरे ।
अभियानको क्रममा कुल ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकामा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका थिए । जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान संचालन गरिएकामा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको थियो ।
छिपहरमाई गाउँपालिकामा ९३, बिन्दवासिनी गाउँपालिकामा ९१, सखुवाप्रसौनी गाउँपालिकामा ८८, ठोरी गाउँपालिकामा ८६, पटेर्वासुगौली र धोबिनी गाउँपालिकामा ८५/८५, पर्सागढी नगरपालिकामा ८४, पोखरिया नगरपालिकामा ८३, वीरगन्ज महानगरपालिकामा ८२ प्रतिशत सफलता मिलेको थियो ।
वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा पर्सा र बारामा यो अभियान संचालन गरिएको थियो ।
इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको थियो । अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ ।
हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जका विभिन्न अस्पतालमा उपचारार्थ आएकोमा तीमध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । परीक्षणहरूबाट वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । हालसम्म वीरगन्जमा फैलिएको हैजाको स्रोत पनि पत्ता लाग्न सकेको छैन ।
